उति बेला नेपालगन्ज उनका लागि बिरानो सहर थियो। कसैसँग चिनजान थिएन। पतिले दोस्री ल्याएपछि एक्लिएकी उनको साथमा थियो पाँच वर्षीय बालक। सोही बालकको लालनपालनको जिम्मेवारी थियो नै साथै सहाराविहीन जीवन बाँच्न पनि सहज थिएन। सोही बालकलाई संसार देखाउन हिँडेकी महिला बिस्तारै रोगले च्यापेर एक वर्षपछि अस्ताइन्। आमाबुवाबाट अलग भएका श्याम पुन मगर नेपालगन्जको सडकपेटीमा हुर्किए।
उनको जीवन दिनप्रतिदिन असहज हुँदै गयो। सानै उमेरका उनलाई बाँच्न निकै संघर्ष गर्नुपर्यो। ‘म सानैमा आमाबाट टाढा भएको थिएँ, मनमा चाहना धेरै थिए’, श्याम विगत सम्झन्छन्, ‘कहिले होटेलको भाडा माँझे, कहिले मजदुरी गरें।’ जसोतसो छाक टार्दै डुल्दै गएपछि एक दिन उनी नेपालगन्ज उपमहानगरपालिका–१ स्थित प्रेमबहादुर पुन मगरको घरमा पुगे। धेरै वर्ष सोही घरमा बसेर श्रम गरे।
उमेर बढ्दै गए। उनका रहर पनि बढ्नु स्वाभाविकै थियो। उनलाई नागरिकताको आवश्यकता पर्यो। ‘नागरिकता पाउन मेरा बुवाआमा मसँग रहनुभएन’, उनले भने, ‘आफन्त भएनन् जसका कारण नागरिकता पाउन मैले ५० वर्ष कुर्नुपर्यो।’
नेपाली समाजमा हुर्केको मैलै नेपाली भए पनि समाजकै कारण ५० वर्षसम्म नागरिकता पाउन सकिनँ’, उनी भन्छन्, ‘बल्ल पाएको छु। अब मेरा लागि एकदमै खुसीको जीवन हुनेछ।’
नागरिकता बनाउन नसकेपछि उनले कति ठाउँमा पाएको जागिर पनि छोड्नुपरेको बाध्यता उनी सुनाउँछन्। ‘नागरिकता नहुँदा मलाई दुईतीन ठाउँमा जागिरबाट निकालिदिए। नेपाली समाजमा हुर्केको मैलै नेपाली भए पनि समाजकै कारण ५० वर्षसम्म नागरिकता पाउन सकिनँ’, उनी भन्छन्, ‘बल्ल पाएको छु। अब मेरा लागि एकदमै खुसीको जीवन हुनेछ।’
पछिल्लो समय उनी सुदूरपश्चिम समाज संस्था धनगढीमा कार्यालय सहयोगीका रुपमा कार्यरत छन्। उनले यसअघि जागिरका लागि धेरै भौंतारिनुपरेको थियो।
सानो उमेरमा पुरुषजस्तै देखिएका पछि गएर महिलाको लक्षण देखापरेपछि समाजले पनि बिस्तारै तिरस्कार गर्दै गयो। त्यही कारण उनी समस्यामा परे। समाजले तिरस्कार गर्दा उनको जीवन कष्टपूर्ण बन्यो। आफूमा महिलाको लक्षण देखापर्दा उनलाई निकै असहज हुन्थ्यो। उनी करिब ४० वर्ष सरस्वती गुरुङका नामले चिनिए। नागरिकता पाएपछि उनको नाम पनि फेरिएको छ।
यसरी पाए नागरिकता
श्यामले अहिले पुनारो बसोबासका आधारमा नागरिकता पाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१ का प्रेमबहादुर पुन मगरको घरमा सानो छँदा बसोबास गरेका आधारमा उनलाई नागरिकता दिलाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार विगतमा प्रमाण अभावमा बन्न नपाएको नागरिकता यसपटक बनेको छ।
‘नेपालको प्रचलित कानुन अवलम्बन गर्नुपर्ने भएका कारण श्याम पुन मगरले नागरिकता पाउन सकेका थिएनन्’, उनले भने, ‘अब उनको पुरानो बसोबासका आधारमा स्थानीय नागरिक तथा सरोकारवाला पक्षको सिफारिसमा प्रचलित काननुबमोजिम नागरिकता दिइएको छ।’
पहिले सरस्वती गुरुङका नामले चिनिने उनले नागरिकता पाएपछि नयाँ नाम पनि पाएका छन्। उनले श्याम पुन मगरका नामले पुस ६ गते नागरिकता पाएका हुन्। सुदूरपश्चिम समाजले पनि श्यामले नागरिकता पाएपछि संस्थालाई पनि सहज हुने जनाएको छ। समाजका कार्यक्रम संयोजक राजु लामाले विगतका दिनमा कार्यालय सहयोगीका रुपमा कामकाज गरिरहेका उनलाई तलब सुविधा प्रदान गर्न पनि समस्या हुँदै आएको बताए।
‘तलब सुविधा बैैंकिङ प्रणालीबाट प्रदान गरिने अवस्थामा उनीसँग नागरिकता नहुँदा समस्या भइरहेको थियो’’, उनले भने, ‘अबका दिनमा भने श्यामसँगै संस्थालाई पनि सहज हुन्छ।’