काठमाडौं- पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले एमालेले संसद्मा गरिरहेको अवरोधलाई ‘मूर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन्।
संसदलाई बन्धक बनाएर एमालेले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको खनालको आरोप छ। उनले संसद् बैठकपछि सञ्चारकर्मीसामु प्रतिक्रिया दिँदै भने , ‘यो एउटा अराजकतावादी कुरा हो। जोसँग तर्कहरू सिद्धिन्छन्, शक्ति सिद्धिन्छ। बौद्धिकता सिद्धिन्छ। मर्यादा सिद्धिन्छ। संवैधानिकता सिद्धिन्छ। त्यस्ता मानिसहरू बल प्रयोगमा लाग्छन्।'
विचार सकिएको एमालेले गरिरहेको बल प्रयोग मूर्खतापूर्ण भएको उनको टिप्पणी छ। संसद जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरू उठाउने थलो भए पनि एमालेले त्यसको गरिमा बुझ्न नसकेको नेता खनालले आरोप लगाए।
'राष्ट्रका नीति, कार्यक्रम, बजेट, ऐन, कानुनहरू, संकल्पहरू निर्माण गर्ने थलो हो यो। यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ? यो राष्ट्रलाई नै चल्न नदिने, राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारि प्रवृत्ति हो। धुन्धुकारि प्रवृत्तिबाट प्रतिपक्षी पार्टीको नेतृत्व ग्रस्त छ,’ उनले भने।