काठमाडौं- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरू देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन्।
एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरू देशघाती र देशद्रोही भएको बताएका हुन्। उनले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत् प्रसारण लाइन तान्ने कुरा कहाँबाट आयो? भन्दै सरकारसँग प्रश्नसमेत गरेका छन्।
उनले नेपालको विद्युत् नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने रेल र विद्युतीय सवारी साधन सञ्चालन गर्न सरकारसँग माग पनि गरे। सांसद सुवालले भने, ‘नेपालको बिजुली भनेको नेपाललाई नै चाहिन्छ। एमसीसी सम्झौता भनेको नेपालको बिजुली भारतहुँदै सिंगापुर लाने हो। एमसीसी सम्झौताको अनुसूची ५ (क) मा गोरखपुरसम्म प्रसारण लाइन तान्ने उल्लेख छ। अमेरिका र नेपालको सम्झौंतामा गोरखपुरसम्म बिजुलीका लाइन तान्ने कहाँबाट आयो?'
सांसद सुवालले एमसीसीको विषयमा सरकार र सदनले विशेष ध्यान दिनुपर्ने आवश्यकतासमेत औंल्याए। उनले एमालेले अवरोध गरिरहेका बेला संसद् बैठक सुचारु गराउन नहुने अडान पनि दोहोर्याए।