सुर्खेत– सुर्खेतमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। गुर्भाकोटका–१३ भक्तपुरका ७१ वर्षिया भीमबहादुर परियारको कुटपिटबाट ६९ वर्षीया श्रीमति गौमाया परिवारको मृत्यु भएको हो।
परपुरुषसँग लागेको आरोपमा भीमबहादुरले चिर्पटो र मसला पिस्ने लोहोरोले हिर्काउँदा गौमायाको मृत्यु भएको सुर्खेतका एसपी पदमबहादुर विष्टले जानकारी दिए। ‘चिर्पटो र मसला पिस्ने होहोरोले हिर्काउँदा मृत्यु भएको भनिएको छ,’ एसपी विष्टले भने, ‘प्रारम्भिक अनुसन्धानमा हत्याको कारण परपुरुषसँग लागेको आरोप देखिन्छ।’
यद्यपि ६९ वर्षिया महिला परपुरुषसँग लागेको आरोप भने विश्वास गर्न लायक छैन। भिमबहादुरले मंगलबार साँझ श्रीमतीको हत्या गरेका हुन्। गौमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयले खबर गरेपछि इलाका छिन्चु प्रहरी कार्यालयले आज बुधबार उनलाई पक्राउ गरेको छ। अनुसन्धानपछि हत्याको कारण खुल्ने प्रहरीको भनाइ छ।