काठमाडौं- उपत्यकामा भइरहेको टिपर आतंकलार्इ रोक्न गृह मन्त्रालयले उपत्यकामा दिउँसोको समयमा टिपर चलाउने राेक लगाएको छ।
गृह मन्त्रालयले मंगलबार उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरमा भइरहेको टिपर आतंक रोक्न जिल्ला प्रशासन कार्यालयहरुलार्इ टिपर सञ्चालनका लागि समयसीमा निर्धारण गरेको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुमार पन्तका अनुसार टिपर तथा मालबाहक ट्रकहरुलार्इ 'पिक आवर' मा चलाउन नपाउने गरी रोक लगाइएको हो। उनका अनुसार बिहान ८ बजेदेखि १२ बजे र दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म मालबाहक ट्रक तथा टिपरलार्इ चलाउन रोक लगाइएको हो।
साउन १ गतेदेखि उपत्यकाभरी नै टिपर र मालबाहक ट्रकलार्इ पहिलो लेनमात्रै प्रयोग दिने प्रावधान लागु गरिने वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुमार पन्तले जानकारी दिए।
प्रवक्ता सुवेदीका अनुसार पछिल्लो समय टिपर दुर्घटनामा धेरैको ज्यान गएको सूचना पछि गृहले यस्तो निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार उक्त निर्देशन कार्यान्वयन गर्दै टिपरलार्इ दिउँसोको समयमा चलाउन रोक लगाएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४