धनगढी- नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट कैलालीका ७ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ बाट चार जना, निर्वाचन क्षेत्र नम्बर १ बाट दुई जना र निर्वाचन क्षेत्र नम्बर ३ बाट एक जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
धनगढी उप-महानगरपालिकाबाट नेपाली कांग्रेसकी नेतृ डा .आरजु राणा देउवा, धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र नगर उप-प्रमुख सुशिला मिश्र भट्ट र नेपाली कांग्रेसकी नेतृ जीवन राना निर्वाचित भएका हुन्। राना गएको निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएकी थिइन्।
नगर प्रमुख वड नेपाली काँग्रेसका निवर्तमान नगर सभापति हुन् भने नगर उप–प्रमुख नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन्।
कैलाली क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल र नेपाली कांग्रेसकी नेतृ पूर्व सांसद इश्वरी न्यौपाने निर्वाचित भएका हुन्।
कैलाली क्षेत्र नम्बर १ मा बसोबास भई क्षेत्र नम्बर ३ बाट गएको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा पराजित पूर्व मन्त्री समेत रहेका रामजनम चौधरी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।