शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिले उद्घाटन गरेको धाराको बिजोग : कहिले आउँछ मेलम्चीको पानी?

राष्ट्रपतिले उद्घाटन गरेको धाराको बिजोग : कहिले आउँछ मेलम्चीको पानी?

‘मेलम्चीको नाममा जनतामाथि सरकार र नेताले अत्याचार गरे। बल्लतल्ल आयो भनेको मेलम्ची पनि केटाकेटीको खेलौनाजस्तो बनाएका रहेछन्। अब त आश लाग्‍न छाड्यो। कमिसनको चंगुलमा डुबेका यी नेताबाट मुलुक उँभो लाग्‍नेवाला छैन, त्यसैले अब यिनलाई भोट समेत हाल्दिनँ,’ महर्जनले आफ्नो निष्कर्ष सुनाए।
 |  शुक्रबार, पुस ९, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

शुक्रबार, पुस ९, २०७८

काठमाडौं- नयाँ युगको सुरुवात भन्दै निकै तामझामका साथ २०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेकी थिइन्। काठमाडौंको भृकुटीमण्डपमा निर्मित धाराको टुटी खोलेर वितरणको औपचारिक सुरु गरेको नौ महिना भएको छ। 

मेलम्ची खानेपानीको धारा उद्घाटनका दिन खुसी भएका स्थानीय साढे दुई महिनामै पानी आउन बन्द हुँदा निराश बनेका छन्। उद्घाटन गरेको साढे दुई महिना नबित्दै धारामा पानी आउन छोड्यो। असार १ मा मेलम्चीमा आएको भीषण बाढीले खानेपानी आयोजनाको संरचना क्षतविक्षत भएपछि अब पानी कहिले आउँछ भन्ने टुंगो छैन।

दुई दशक र ३५ अर्ब रुपैयाँ खर्च गरिएको मेलम्ची खानेपानी आयोजनाको काम नसकिँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा उद्घाटन गरिएको थियो। ओलीमाथि शिलालेखमा आफ्नो नाम लेखाउनकै लागि प्राविधिक र कर्मचारीलाई दबाब दिएर आशिंक रुपमा पानी वितरण गर्न लगाएको आरोप उतिबेलै लागेको थियो। 

धारामा यतिखेर कमिलाको ताँती लागेको छ। धुलो, मैलो र फोहोरको थुप्रो जम्मा भएको छ। २० वर्षदेखि भृकुटीमण्डपमा व्यापार गर्दै आएका गणेश महर्जन भन्छन्, 'यो धारा केटाकेटीको खेलौनाजस्तो मात्रै रहेन, देशको विकास कति कच्चा छ भन्ने एउटा गतिलो उदाहरण पो बन्न पुग्यो।' 

महर्जन मेलम्चीका नाममा सरकारले जनता झुक्याउने काम मात्रै गरेको आरोप लगाउँछन्। ‘राष्ट्रपतिजस्तो व्यक्तिबाट उद्घाटन भएको धारा आज यस्तो अवस्थामा छ। जनतामाथि सरकारले गरेको योभन्दा भद्दा मजाक अरु केही होला र?’ उनले भने। 'मेलम्ची आयोजना सुरु गर्न लागे रे, अब काठमाडौंमा पानीको दुःख हुँदैन रे' भन्‍ने हल्ला पहिलो पटक सुन्दा महर्जन ३४ वर्षका थिए। अहिले ६४ वर्षका भए।

उनी अब भने सरकार र नेताको गफ सुन्‍न छाडेको बताउँछन्। ‘मेलम्चीका नाममा जनतामाथि सरकार र नेताले अत्याचार गरे। बल्लतल्ल आयो भनेको मेलम्ची पनि केटाकेटीको खेलौनाजस्तो बनाएका रहेछन्। अब त आस लाग्‍न छाड्यो’, महर्जनले भने। 

धादिङका अमर राणा पनि भृकुटीमण्डपमा व्यापार गर्छन्। उनी राष्ट्रपतिले मेलम्ची खानेपानीको धारा उद्घाटन गरेका दिन त्यहीं थिए। उद्घाटन गरेको एक महिनासम्म यही धाराको पानी खाए। ‘करिब साढे दुई महिनासम्म त पानी आएकै थियो। त्यसपछि आउन छाडेको पानी आजसम्म आएको छैन। के कारण नआएको हो म जान्दिनँ। तर, राष्ट्रपतिले उद्घाटन गरेको धारा कमिलाको ताँती लाग्‍नु साह्रै नराम्रो कुरा हो,’ उनले भने। 

भृकुटीमण्डपस्थित धारा। 

 बाढीले मेलम्ची खानेपानी आयोजनाको 'हेडवर्क्स' मा क्षति पुर्‍याएको थियो। निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको थियो। निर्माण व्यवसायीका उपकरण समेत बाढीले बगाएको थियो। 

 ‘मेलम्चीका नाममा जनतामाथि सरकार र नेताले अत्याचार गरे। बल्लतल्ल आयो भनेको मेलम्ची पनि केटाकेटीको खेलौनाजस्तो बनाएका रहेछन्। अब त आस लाग्‍न छाड्यो’ महर्जनले भने।  

मेलम्ची बजारबाट २१ किलोमिटर पर रहेको उक्त संरचना पुग्‍न पार गर्नुपर्ने चारवटा पुल र लगभग आधा सडक बाढीले बगाएको थियो। बाढीको एक धक्कामा सखाप हुने गरी ३० वर्ष लगाएर मेलम्ची खानेपानी आयोजनाको निर्माण कसरी गरियो? यसको बनोट र स्थान छनोट नै गलत थियो कि थिएन? यस विषयमा अहिलेसम्म बहस भएको छैन। 

अब कहिले आउँछ मेलम्ची?

बाढीले क्षति पुर्‍याएपछि अवरुद्ध भएको मेलम्चीको खानेपानी फेरि काठमाडौंबासीको धारामा कहिले आउँछ? यसको जवाफ स्वयं मेलम्ची खानेपानी आयोजनासँग नै छैन। मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्त भन्छन्, 'अस्थायी रुपमा पानी ल्याउनका लागि हामी मन्त्रिपरिषद्को निर्णय कुरिरहेका छौं। सरकारले निर्णय गर्ने बित्तिकै हामी काम अघि बढाउँछौं। तर, अहिल्यै मेलम्चीको पानी आउँछ म भन्न सक्दिनँ।'

उनका अनुसार बाढीले क्षति पुर्‍याएको ६ महिनासम्म पनि सुरुङ सफा गर्ने काम अघि बढेको छैन। उनले भने, 'मेलम्चीको अवस्था प्रधानमन्त्री कार्यालयमा अवगत भइसकेको छ, प्रधानमन्त्री कार्यालयको ठूला आयोजना हेर्ने निकायले जति चाँडो चासो देखाउँछ, त्यति नै छिटो बन्‍न सक्छ।' 

हेडवर्क्स करिब १० मिटर पुरिएको छ। हेडवर्क्समा करिब तीन लाख घनमिटर गिट्टी, बालुवा र ढुंगा थुप्रिएको र त्यसलाई हटाउन करिब ३० करोड रुपियाँ लाग्‍ने अनुमान गरिएको छ। यसअघि अस्थायी ड्याम बनाएर पानी काठमाडौं पठाइएको थियो। यो अस्थायी ड्याम बाढीले बगाएको छ।

तत्काल पानी ल्याउन अर्को अस्थायी ड्याम निर्माण गर्नुपर्छ तर पहिले क्षति भएका संरचना सफा नगर्दासम्म अस्थायी ड्याम बनाउन सकिने अवस्था छैन। सुरुङभित्र पानी छ र यो पानी बाहिर निकालेपछि सुरुङ परीक्षण गर्नुपर्ने हुन्छ। यो कामसमेत हुन सकेको छैन। 

खानेपानी मुहान नजिकै पहिरो जाँदा असार १ गते मेलम्चीमा आएको बाढी। बाढीबाट आयोजनाको भौतिक संरचनामा ठूलो क्षति भएको थियो। फाइल तस्बिर

पन्तका अनुसार बाढी आउन छोडेपछि भत्केको बाटो र मोटरेबल पुल अस्थायी रुपमा बनाएको छ। स्थायी बनाउन ठेक्का प्रक्रियामा जानुपर्ने र त्यसका लागि कम्तीमा तीन वर्ष लाग्‍ने भएकाले अहिले अस्थायी पुल नै बनाउनु पर्ने देखिएको उनले बताए।

मेलम्चीको बाढीले चारवटा मोटरेबल पुल भत्काएको थियो। त्यस्ता मोटरेबल पुल सबैभन्दा चाँडो नेपाली सेनाले मात्र बनाउन सक्छ। प्रधानमन्त्री कार्यालयले सेनासँग समन्वय गरेर मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढ्ने पन्तले जानकारी दिए। 

आयोजनाले अस्थायी कफरड्याम बनाएर पानी पठाइरहेको थियो। त्यो कफरड्यामलाई पनि बाढीले क्षति पुर्‍याएको छ। मेलम्चीमा हाल भएको क्षति पुनर्निर्माण र सङ्लिएपछि पानी पठाउनुपर्ने भएकाले समय तोकेर भन्न नसकिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। 

प्रकाशित: Dec 24, 2021| 07:47 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।