काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधिन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका छन्।
सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दाका विषयमा संसद्मा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई सचेत पनि गराएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजीसहित अवरोध गरेपछि सभामुख सापकोटाले आफ्ना असहमतिका विषय संसद्मै राखेर अघि बढन पटक-पटक आग्रह गरेका हुन्।
उनले राष्ट्रहितको कैयौं विषयमा आवश्यक निर्णय गरेर अघि बढाउनुपर्ने संसद् अवरुद्ध पारेर एमालेले संसदीय विधि र प्रक्रिया विपरीत काम गरिरहेको बताए। सभामुख सापकोटाले भने, ‘परिस्थिति र परिवेश सधैं एकै रहँदैन। समसामयिक राजनीतिक परिस्थितिलाई राष्ट्रिय हितलाई ध्यान राखी कार्य सम्पादन गर्नु र सरकारलाई गर्न लगाउनु संसद्को प्रमुख कर्तव्य पनि हो। उल्लेखित विषयवस्तु मनन गर्दै सहज सभा सञ्चालनमा सहयोग गर्न सम्पूर्ण माननीय सदस्यहरुको ध्यानाकर्षण गर्दछु। माननीय सदस्यहरु, जनप्रतिनिधिहरुको सर्वोच्च निकाय संघीय संसद् एवम संसद् सदस्यले स्वीकृत विधि, पद्धति एवम् प्रक्रिया पालन गर्ने कुरामा अझै बढी संवेदनशील हुन एवम प्रतिवद्ध हुन आवश्यक छ भन्ने कुरामा हामी सबै जानकार छौं।'
सभाको नियमित प्रक्रियामा प्रवेश गरी आफ्ना असहमतिलाई राख्न सभामुख सापकोटाले आग्रह गरे। उनले बैठकलाई सुव्यवस्थित तरिकाबाट सञ्चालन गर्न आ–आफनो आसन ग्रहण गरि दिन र नेपालको संविधान अनुसार बैठक सञ्चालनमा आवश्यक सहयोग गर्न अनुरोध गरेका हुन्।
सभामुख सापकोटाले नागरिकता, संघीय निजामती कर्मचारी ऐनलगायतका महत्वपूर्ण विधेयकहरु अघि बढाउन पनि संसदलाई सूचारु गरेर अघि बढ्नुको विकल्प नरहेको बताए।