काठमाडौं– एमाले सांसदहरूको नाराबाजीका बीच सभामुखले प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका थिए। बारम्बारको आग्रहपछि पनि नाराबाजी नरोकिएपछि सभामुखले बैठक अघि बढाएका थिए। नाराबाजीबीच नै आजको बैठक सकिएको छ। अर्को बैठक भोलि बुधबारका लागि डाकिएको छ।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन्।
नवौं महाधिवेशनका सबै बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले जारी १०औँ अधिवेशनमा पनि पहिलो बैठकदेखि नै अवरोध गर्दै आएका छन्।