जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज मनोनयन दर्ता हुन लागेको छ। कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आज मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको हो।
अधिवेशन अन्तर्गत मंगलबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ भने बुधबार निर्वाचन गर्ने कार्यक्रम रहेको छ।यद्यपि अहिलेपनि सर्वसम्मति गर्ने प्रयास भईरहेको एक नेताले जानकारी दिए। यद्यपि उम्मेदवारी दिने तयारी गरेका प्रदेश २का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र कांग्रेस रौतहटका सभापति कृष्ण यादवमध्ये कोही पछाडी हट्ने संकेत अहिलेसम्म दिएका छैनन्।
त्यसमाथी प्रदेश २को अधिवेशनमा शेखर कोइराला समूहको इन्ट्री समेत हुन लागेको देखिएको छ। १४औँ महाधिवेशनमा कोइराला समूहको राम्रो प्रदर्शनपछि सो समूहबाट नरेश यादवले समेत प्रदेश सभापतिका लागि उम्मेदवारी दिन लागेको श्रोतको दागवी छ।
प्रदेश २ को सभापति पदमा निधि खेमाबाट रामसरोजले उम्मेदवारी दिन लागेका हुन् भने कृष्ण यादव सभापति देउवा खेमाबाट उम्मेदवारी दिने तयारी गरेका हुन्। देउवा पक्षबाट पार्टीका रौतहट जिल्ला सभापति कृष्णा यादवको नाउँ प्रदेश सभापति पदका लागि पार्टीका केन्द्रीय सदस्य रमेश रिजालले घोषणा गरेका थिए।
कृष्णा यादवको पक्षमा नै आफूले समर्थन जनाएको भन्दै महोत्तरी जिल्लाका सभापतिले समेत समर्थन जनाई सकेका छन्। रिजालले अरु पदमा सम्झौता गर्न सकिएपनि प्रदेश सभापतिमा कुनै हालमा पनि सम्झौता नगर्ने प्रतिक्रिया दिदै आई रहेका छन्।
प्रदेश अधिवेशनका लागि केन्द्रीय नेताहरू जनकपुरधाम पुगि सकेका छन्। नेता विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्य उदयशम्शेर राणा समेत जनकपुरधाम आई सकेका छन्। कोइराला पक्षबाट गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही लगायतका नेताहरु जनकपुरधाम आई पुगेका हुन्।
प्रदेश अधिवेशन सर्वसम्मतिमै सम्पन्न गराउने प्रयास अहिले पनि भईरहेको गृहमन्त्री बालकृष्ण खाँणले प्रतिक्रिया दिएका छन्। उनले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी रहेकाले सर्वसम्मतिमा नेतृत्व चयन नभए निर्वाचनकै माध्यम अपनाउने बताए।
अधिवेशनबाट प्रदेश सभापति, २ उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गर्नेछ।