काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिने निर्णय गरेको छ। सिंहदरबारस्थित लोसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।
लोसपा संसदीय दलका प्रतिनिधिसभा सदस्य लक्ष्मण लाल कर्णले पार्टी एमसीसीको पक्षमा उभिने निर्णय भएको र भोलि बस्ने संसदको बैठकमा सत्ता पक्ष कसरी प्रस्तुत हुन्छ त्यसअनुसार पार्टी अघि बढ्ने बताए।
हिजोको सर्वदलीय बैठकमा एमसीसीबारे भएको छलफलको विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले बिफ्रिङ गरेका थिए। सत्ता पक्षमै पनि एमससीको विषयमा स्पष्ट नरहेको कुरा अध्यक्ष ठाकुरले बैठकमा राखेका थिए।
बैठकमा संसदीय दलको नेताको विषयमा छलफल हुने भनिए पनि एजेण्डा नै नबनेपछि त्यसमा छलफल नभएको नेता कर्णले बताए।