काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन आयोगलाई निर्देशन दिएका छन्। आयोगका पदाधिकारीहरूसँग सोमबार छलफल गर्दै मन्त्री पौडेलले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खोल्न निर्देशन दिएका हुन्। आयोगल मावि शिक्षकका लागि भने गत साता विज्ञान खोलेको छ।
आयोगका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री पौडेलले भने, ‘देशभरका विद्यालयमा शिक्षक अभाव भएकाले यसै साता निम्नमाध्यमिक र त्यसको केही समयपछि प्राविको विज्ञापन खोल्नुस्।’
क्षिक सेवा आयोग नियमावलीको ११ औं संशोधन मन्त्रिपरिषद्बाट पास भएको बताउँदै शिक्षकको आन्तरिक बढुवा एवम् अध्ययन अनुमतिपत्रकव् विज्ञापन गर्ने प्रक्रिया थाल्नसमेत आयोगलाई मन्त्री पौडेलले निर्देशन दिएका छन् । उनले भने, ‘पाँच वर्षदेखि आन्तरिक शिक्षकको बढुवा रोकिएको छ। नियमावली पास भएको छ। शिक्षकको आन्तरिक बढुवा, शिक्षक दरबन्दी र अध्ययन अनुमतिपत्रको विज्ञापन गर्नुहोस्।’
नियमावली संशोधन भइसकेकाले अब तीन हजार तीन सय ९८ शिक्षकको आन्तरिक बढुवा हुनेछ। प्रावि शिक्षकमा १३ हजार ९३ दरबन्दी रिक्त छ। मन्त्री पौडेलले १० दिनको अन्तरमा निमावि र प्राविको विज्ञापन गर्न निर्देशन दिएका हुन्। छलफलमा शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बुधबारसम्म निम्न माध्यमिक तहको विज्ञापन खोल्ने तयारी भएको जानकारी दिए।