काठमाडौं– नेपाली कांग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनबाट केन्द्रीय समितिमा खुलातर्फ झन्डै आधा नयाँ अनुहार आएका छन्। ९९ जना उम्मेदवारबाट ३५ जना चुनिँदा १६ जना नयाँ छन्।
यी हुन् कांग्रेस केन्द्रीय समितिमा डेब्यु गर्नेहरु
उदयशमशेर राणा
नेपाल तरुण दलको पूर्व अध्यक्ष हुन् उदय। उनले खुलातर्फ चौथो सर्वाधिक मत ल्याएका छन्। पहिलोमा शशांक कोइराला, दोस्रोमा एनपी साउद र तेस्रोमा बालकृष्ण खाण छन्। दोस्रो संविधानसभा सदस्य रहेका राणा पूर्व अर्थ राज्यमन्त्रीसमेत हुन्।
१३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा लडेका थिए राणा। त्यतिखेर खुलातर्फ २५ जना निर्वाचित हुने व्यवस्था भएकोमा राणा २७ औं नम्बरमा परेका थिए।
रामहरि खतिवडा
रामहरि पनि पहिलोपल्ट कांग्रेस केन्द्रमा पुगेका हुन्। अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा लडेका खतिवडा यसपल्ट भने पाँचौं भएर चुनाव जिते। २०७० सालको संविधानसभामा ओखलढुंगाबाट निर्वाचित भएका खतिवडा संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने सांसदमा पर्छन्।
जितजंग बस्नेत
नेपाल तरुण दलका अध्यक्ष जितजंग पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री बस्नेतले कांग्रेस केन्द्रीय सदस्यमा ११ औं स्थानमा रहेर जित हासिल गरेका छन्।
नैनसिंह महर
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर ३५ जनामा १५ औं भएर निर्वाचित भए। डडेल्धुराका महर भ्रातृ संगठनकै राजनीतिबाट उदाएका हुन्। विद्यार्थी नेतामा असफल मानिएका महरले कांग्रेस केन्द्रमा भने बाजी मारेका छन्। नेविसंघको अधिवेशन गराउन नसकेर बर्खास्तीमा परेका थिए महर।
कुन्दनराज काफ्ले्
विद्यार्थी राजनीतिबाट चर्चा कमाएका कुन्दनराज काफ्ले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री हुन्। उनी कांग्रेसको १३ औं महाधिवेशनमा दोलखा कांग्रेसको सभापतिमा लडेका थिए तर हारे। यसपटक खुलातर्फको केन्द्रीय सदस्यमा २० औं स्थानमा रहँदै जितेका छन्।
गुरु बराल
नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष बराल पनि पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले खुलातर्फ २५ औं स्थानमा जित हासिल गरे। २०७४ सालको प्रदेशसभा निर्वाचनमा कास्कीबाट लडेका थिए तर जित्न सकेनन्।
सञ्जयकुमार गौतम
नेपाली कांग्रेस बर्दियाका पूर्वसभापति गौतम पूर्व सिँचाइमन्त्री हुन्। उनी पहिलोपटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छन्। २०७४ सालको आम निर्वाचनमा बर्दियाबाट वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई पराजित गरेर सञ्जय चर्चामा आएका थिए।
गोविन्दराज पोखरेल
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेल २७ औं नम्बरमा रहेर कांग्रेस केन्द्रीय समितिमा निर्वाचित भएका छन्। उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ भएर पनि काम गरेका थिए। उनी प्युठानबाट सांसद पनि लडेका थिए तर हारे।
राजीव ढुंगाना
नेपाल विद्यार्थी संघका अध्यक्ष ढुंगाना पनि पहिलो पटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। २४ औं नम्बरमा रहेर केन्द्रीय सदस्य जितेका ढुंगाना ५० वर्ष आसपासको उमेरमा नेविसंघ अध्यक्ष बनेका थिए। उनले पनि न नेविसंघको महाधिवेशन गराउन सकेका छन् न त केही पदाधिकारीबाहेक नेविसंघलाई पूर्णता नै दिन सकेका छन्।
दिनेश कोइराला
गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको टिकट पाएर पनि खोसिएपछि दिनेश कोइराला चर्चामा आएका थिए। उनको टिकट खोसेर नेपाली कांग्रेसले माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको थियो। रेणुले चुनाव जितिन् पनि। कोइराला खुलातर्फ ३१ औं नम्बरमा रहेर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। चितवनबाट कांग्रेस केन्द्रीय समितिमा पुग्ने कोइराला पहिलो नेता बनेका छन्। हालसम्म चितवबाट केन्द्रीय समितिमा कसैको प्रतिनिधित्व हुन सकेको थिएन
मदनबहादुर अमात्य
लामो समय ललितपुर कांग्रेसको जिल्ला सभापति रहेका अमात्य पनि पहिलोपटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छन्। २०७० सालमा उनी संविधानसभा सदस्य निर्वाचित भएका थिए।
अजयबाबु शिवाकोटी
हालैमात्र सक्रिय पत्रकारिता छोडेर राजनीतिमा लागेका अजयले पनि छलाङ मारेका छन्। नेपाल प्रेस युनियनका महासचिवसमेत रहेका शिवाकोटी हाम्राकुरा डटकमका प्रधान सम्पादक थिए। उनले कृष्णबहादुर महरा र गोकुल बाँस्कोटा प्रकरणमा गरेको रिपोर्टिङका कारण चर्चा पाएका थिए। उनी पहिलो पटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छ्न् २९ औं नम्बरमा रहेर।
उमेशजंग रायामाझी
नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका उमेशजंग गत संसदीय निर्वाचनमा भोजपुरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए। उनलाई नेकपाका उम्मेदवारले पराजित गरे। रायामाझी पहिलोपटक ३२ औं नम्बरमा रहेर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
रायामाझी नेविसंघका पूर्व महामन्त्रीसमेत हुन्।
गणेश लामा
विवादित पृष्ठभूमिका गणेश लामा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम हुँदै कांग्रेसमा आएका हुन्। काभ्रेबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका लामालाई गच्छदारले समायोजनका क्रममा केन्द्रीय सदस्य बनाएका थिएनन्। यसपटक खुलातर्फ निर्वाचित हुँदै कांग्रेस केन्द्रीय सदस्यमा पहिलोपटक प्रवेश पाएका छन्।
मोहन आचार्य
रसुवाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित आचार्य पेशाले इञ्जिनियर तथा निर्माण व्यवसायी हुन्। सक्रिय राजनीतिमा आएको छोटो समयमै उनी कांग्रेस केन्द्रीय सदस्य बन्न सफल भएका छन्। खुलातर्फको केन्द्रीय सदस्यमा आचार्य ३३ औं नम्बरमा रहेर निर्वाचित भएका छन्।
कृष्णकिशोर घिमिरे
दाङको राजनीतिमा प्रभावशाली घिमिरेलाई यसअघि सभापति शेरबहादुर देउवाले आमन्त्रित केन्द्रीय सदस्य बनाएका थिए। अहिले भने खुलातर्फ निर्वाचन जितेर केन्द्रीय समितिमा आएका छन्। उनी ३५ औं नम्बरमा रहे।