काठमाडौं- नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ प्रधानमन्त्री केपी ओलीको 'किचन क्याबिनेट' मात्र होइन, 'दाहिने हात' मानिन्छन् । उनी नेकपा केन्द्रीय कार्यलय धुम्बाराहीका कार्यलय सचिव हुन्। उनी अध्यक्ष ओलीका प्रिय र विश्वासिला नेता हुन् ।
तर श्रेष्ठ अब ओलीका मात्र छनोटका नेता रहेनन् । उनी सचिवालय सदस्य माधवकुमार नेपालको आँखामा परे। त्यो पनि चीन भ्रमणमा। श्रेष्ठ नेपालसँगै बेइजिङ उडेपछि पार्टीभित्र खासखुस सुरु भएको छ ।
चीनको सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसनको निमन्त्रणमा नेपाल र श्रेष्ठ मंगलबार राति त्यसतर्फ गएका हुन् । स्रोतका अनुसार नेपाललाई पूर्व प्रधानमन्त्रीको हैसियतमा त्यहाँ बोलाइएको हो।
नेपालसँग अर्का एक जनाका लागि पनि निमन्त्रण थियो। त्यसमा अरुनै छनोट गरेको भए पनि हुन्थ्यो। तर नेपालले ओलीका दाहिने हात मानिएका श्रेष्ठलाई रोजेपछि नेकपाको समीकरणमा नेपाल ओलीको सम्बन्ध अनुमान गर्न सजिलो भएको छ। एकीकरणभन्दा ओली नेपाल सम्बन्ध त्यति सुमधुर थिएन। पार्टी एकीकरणको संघारमा आइपुग्दा दुई नेताबीचको सम्बन्ध अचानक सुमधुर देखिएको छ।
पूर्व प्रधानमन्त्री नेपालले सम्मेलनमा सिल्क रोड र नेपालको सहभागीताबारे बिशेष सम्बोधन गर्नेछन् । उनले सिल्क रोडबाट नेपालले गरेको अपेक्षा र लाभका बिषयमा पनि आफ्ना धारणा राख्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४