काठमाडौं- सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आह्वान गर्नुभएको सत्तारुढ गठबन्धनको बैठकले सो सहमति गरेको हो। कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन्।
कार्यदलले संसद् बैठक सुचारु गर्नेदेखि संसद्मा विचाराधिन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरुसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश पाएको बैठकमा सहभागी एक नेताले राससलाई जानकारी दिए। बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकपछि आइतबार नै संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसेको थियो। बैठकमा संसद्मा जारी गतिरोध अन्त्य गर्ने, संसद्मा विचाराधिन विषयलाई अगाडि बढाउनेलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए।
–––