बिहीबार, भदौ ४, २०८३

सर्वदलीय बैठक निष्कर्षविहीन, एमसीसी यथास्थितिमा पास नगर्न सुझाव

बैठकमा दलहरूको सुझाव लिइएको भएपनि कुनै निष्कर्ष भने ननिस्किएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं- अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई जस्ताको तस्तै संसद्‍बाट पारित नगर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा विभिन्न दलका प्रतिनिधिहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो सुझाव दिएका छन्। 

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका थिए। त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि संशोधनविना अगाडि बढाउन नसकिने धारणा राखेका थिए। जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा राखेका थिए। 

नेपाल मजदुर किसान पाटी, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेको सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले जानकारी दिए।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे बैठकमा गहन छलफल भएको र त्यसबारे थप छलफल गरेर अघि बढने सहमति बैठकमा गरिएको बताए। ‘संसद अवरोध र एमसीसीको बारेमा लामो छलफल भयो। र एमसीसीको बारेमा व्यापक रुपमा छलफल भएर फेरि थप छलफल गरेर एउटा निष्कर्षमा पुग्ने सहमती बनेको छ। र असंसद अवरोधको सन्दर्भमा एउटा धारणा छ,' उनले भने, 'संघीय संसद निरन्तर रुपमा अवरोध हुँदा संसदका नियमित काम र जनताले यो संस्थाबाट अपेक्षा गरेको गहन भूमिका समेत प्रभावित भएको छ। जननिर्वाचित संस्थालाई यसरी लामो समय बन्धक बनाउनु उचित होइन।'

संसदको गतिरोधका कारण महत्वपूर्ण विधेयक र प्रस्ताव अल्झिएको उनको भनाइ छ। 'सशक्त प्रतिपक्ष हुनुको अर्थ संसदनै चल्न नदिने होइन। विरोध गर्ने, असहमति प्रकट गर्ने मूल थलो संसद नै हो। तर सिंगो संसदलाई यसरी निरन्तर बन्धक बनाउँदा हाम्रो लोकतन्त्र र संसदीय अभ्यास समेत कमजोर हुने जाने खतरा हुन्छ,' प्रवक्ता कार्कीले भने, 'प्रतिपक्षले उठाएका विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै संसद चल्ने वातावरण बनाउन प्रतिपक्षलाई आग्रह गर्दछौं।’

बैठकले सत्तारुढ दलहरुले संवादको माध्यामबाट प्रतिपक्षले उठाएको विषय सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै संसद बैठक सूचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग आग्रह समेत गरेको छ। कांग्रेस नेतासमेत रहेका कार्कीले लामो समयसम्म संसद बन्धक बनाउन नमिल्ने उल्लेख गर्दै सत्तारुढ दलहरुले प्रमुख प्रतिपक्ष एमालेलाई सो अवरोध हटाउन आग्रह गरेको जानकारी दिएका हुन्। बैठकमा नेपाल मजदुर किसान पार्टीका नेता सुवालले प्रतिपक्षले अवरोध गरिरहेको बेला संसद स्थगित गर्नुपर्ने माग गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको थियो।

बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, पूर्वसहमहामन्त्री रामशरण महत, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उपस्थित थिए। 

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी भएका छन्।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ बैठकका लागि बालुवाटार पुगेका थिए। 

यस्तै नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव बेदुराम भुसाल बैठकमा सहभागी थिए। 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र सर्वेन्द्रनाथ शुक्लाका साथै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट र नेमकिपाका महासचिव प्रेम सुवाल सर्वदलीय बैठकमा सहभागी छन्।

साउन ३ गतेदेखि एमालेले सुरू गरेको संसद् अवरोध अझसम्म पनि कायमै छ। 

प्रकाशित: Dec 19, 2021| 18:18 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...