काठमाडौं-नुवाकोटको त्रिशुली जलविद्युत केन्द्रमा आगलागीबाट भएको क्षति विवरण यकिन गर्न नेपाल विद्युत प्राधिकरणले टोली परिचालन गरेको छ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार टोलीले क्षतिको यकिन विवरण संकलन गरी आयोजनालाई चाँडो सञ्चालन गर्न चाल्नुपर्ने कदमका विषयमा प्राधिकरणलाई सुझाव दिनेछ ।
त्रिशूली जलविद्युत केन्द्रमा जडित २४ मेगावाट क्षमताको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउसो आगलागी भएको थियो । आगलागीबाट आयोजनामा क्षति पुगेको छ । आयोजनाका १३ फिडरमध्ये ६ वटाबाट विद्युत उत्पादन भएको छ भने बाँकी बन्द अवस्थामा छन् ।
प्राधिकरणले विद्युत गृहमा आगलागीपछि विद्युत आपूर्ति बन्द भएका नुवाकोटका विभिन्न स्थानमा वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति सुचारु गरिएको छ ।
आगलागीबाट नुवाकोट बाहेकका अन्य जिल्लामा विद्युत आपूर्तिको कुनै समस्या नरहेको बताउँदै प्रवक्ता अधिकारीले आयोजनामा भएको आगलागीबाट क्षतिको यकिन विवरण आइनसकेको तथा अनुगमन समितिले अध्ययन गरिसकेपछि प्राधिकरणले अन्य कदम चाल्ने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४