बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बिहानी समाचार : संसद्को गतिरोध फुकाउन सर्वदलीय बैठक, कांग्रेसका ३५ केन्द्रीय सदस्य चुनिँदै

बिहानी समाचार : संसद्को गतिरोध फुकाउन सर्वदलीय बैठक, कांग्रेसका ३५ केन्द्रीय सदस्य चुनिँदै

अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा लगेर अनुमोदन गराउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं– अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा लगेर अनुमोदन गराउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। 

आज अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा विपक्षी दल एमालेबाट लगातर अवरुद्ध हुँदै आएको संसद् खोल्न र एमसिसीबारे साझा धारणा बनाउन लागिएको हो। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई बैठकमा बोलाइएको छ।

यस्तै लोकतान्त्रीक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि बैठकमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चालू संसद् अधिवेशनमा एमसिसी प्रवेश गराउने र अनुमोदन आफ्नो योजनामा सहमति जुटाउन प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि एमसिसीमा सत्तागठबन्धन रहेका दलहरूबीच समेत सहमति जुटिसकेको छैन । यसैबिच, प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ। 

कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी

नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यको मतगणना पुनः सुरु भएको छ। 

शनिबार राति साढे ११ बजेसम्म २३९३ अर्थात ५१ प्रतिशत मत गणना गरेर रोकिएको थियो। आज बिहानबाट बाँकी ४९ प्रतिशत मत गर्न सुरु गरिएको हो। ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाको कोटा भित्र परेका छन्। खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन्।

३५ जनाको कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा परेका छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते मतदान भएको थियो। अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भैसकेको छ भने केन्द्रिय सदस्यहरुको मतगणना चलिरहेको छ। 

१२ देखि १७ वर्षकालाई आजदेखि कोभिड खोप

सरकारले आजदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडेर्ना खोपको पहिलो मात्रा आजदेखि पुस १४ गतेसम्म ५७ जिल्लाका विद्यार्थीलाई लगाउने भएको हो। यस समूहका बालबालिका करिब १८ लाख रहेको सरकारको अनुमान छ। खोप विद्यालयहरुमा केन्द्र बनाएर लगाइँदैछ। यस्तै मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइने भएको छ। ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ।

धान्य पूर्णिमा मनाइँदै

धानको विधिपूर्वक पूजाआजा एवं दान गरी आज धान्यपूर्णिमा पर्व मनाइँदै छ। 

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा गणेश, कुलदेवता, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ धान कुटेर चामल बनाउने त्यसबाट विभिन्न परिकार बनाएर चढाउने परम्परा छ। यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवअन्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यस्तै मंसिर शुक्ल पूर्णिमाको दिन आज किराँत समुदायले उधौली पर्व मनाउँदै छन्। तीन दिन अघि शुरु भएको यो पर्वको तेस्रो दिन किरात समुदायका राई, लिम्बु, सुनार र याक्खा जातिले संयुक्त रुपमा उघौली पर्व मनाउने गर्छन्। किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ। 

नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले भने आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन्। 

योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ। यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा मनाउने गरेको संस्कृतिविद्हरु बताउँछन्। योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल राखेर डल्लो बनाइन्छ। नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन्। 

भारतसँग फुटबल खेल्दै यु–१९ महिला टोली

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ। 

बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा  हुने खेलमा नेपाल र भारत नेपाली समय अनुसार दिउँसो पौने ३ बजे  प्रतिस्पर्धा गर्नेछन्। भारतविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ। नेपाल भारतलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ। नेपालले ३ खेलमा २ जितसहित ७ अंक जोडेको छ। नेपाल शीर्ष स्थानमा रहेको छ। नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। भारतविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ 

प्रकाशित: Dec 19, 2021| 10:44 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...