जनकपुरधाम- नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्द सत्र स्थगित भएको छ। सर्लाहीको लालबन्दीमा तय गरिएको बन्दसत्र विवादका कारण एक दिनका लागि स्थगित गरिएको हो।
अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि आइतवार बिहान ११ बजेसम्मका लागि पहिलो प्रदेश अधिवेशन स्थगित गरिएको प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए।
अध्यक्ष बुढाथोकीले जिल्लाहरुबाट तोकिए भन्दा बढी प्रतिनिधि आएको हुनाले यो समस्या समाधान नभएसम्मका लागि आइतबार बिहान ११ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको बताए।
बुढाथोकीले अधिवेशनबाट २४१ सदस्यीय प्रदेश समिती बनाउने गृहकार्यमा जुटेको बताए। प्रदेश समितिमा प्रत्येक पालिकाबाट एक जना प्रतिनिधिमुलक रहने तथा प्रदेश र संघिय निर्वाचन क्षेत्रलाई आधार र बिगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मत अनुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको अध्यक्ष बुढाथोकीले बताए।
बन्द सत्रले २४१ सदस्यीय समिती चयन गर्नेछ भने सो समितिको बैठकबाट अध्यक्षसहित पदाधिकारी चयन गरिने माओवादी केन्द्र प्रदेश समितिले जनाएको छ।
माओवादी भित्रको विवादकै कारण पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्र गरेर बन्द सत्र पुस ३ गतेका लागि निर्धारण गरिएको थियो।
माओवादी केन्द्रको उद्घाटन सत्र मंसिर २५ गते जनकपुरधाममा भएको थियो भने बन्द सत्र सर्लाहीको लालबन्दीमा हुने निर्धारण गरिएको छ।