काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयलाई मुख्य समाचार बनाएका छन् ।
कसैले राजमार्गका पुलहरु धराप बन्दै गएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले टिपरको दादागिरी झनै बढेको विषयलाई प्रमुखताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले मुख्य समाचारका रुपमा छापेको राजमार्गका पुल धरापमा शीर्षकको खबरमा लेखेको छ– 'मुख्य राजमार्गका १७०८ वटा पुलमध्ये प्रत्येक वर्ष ठूला ३/४ वटामा समस्या आइरहेको छ ।' ती पुल मर्मतमा वर्षेनी २० करोडभन्दा बढी खर्च हुने गरे पनि आवागमन सहज हुन नसकेको कान्तिपुरमा उल्लेखछ ।
यसैगरि उसले अनसनरत डा गोविन्द केसीले आफूसंग वार्ता गर्न चाहे सरकार जुम्ला आउनु पर्ने बताएको विषयलाई पनि महत्वका साथ छापेको छ ।
टिपरको दादागिरी झनै बढेको विषयलाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोस्टले भने चिकित्सक आन्दोलित भएको खबरलाई विशेष प्राथमिकताका साथ प्रकाशित गरेको । डा केसीको माग सम्बोधनमा सरकारले बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको चिकित्सकहरुले बताएका छन् ।
अनसनरत डा गोविन्द केसीको समर्थनमा जुम्लि महिला सडकमा उत्रिएको विषयलाई एङ्कर न्युज बनाएको आजको नयाँ पत्रिकाले मेडिकल कलेज व्यापारीलाई दिएर चुरोट कारखाना चलाउँदै सरकार शीर्षकमा मुख्य समाचार छापेको छ ।
चिकित्सक आन्दोलनमा
एघार दिनदेखि अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दैे मुलुकभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् ।
अन्नपूर्णमा प्रकाशित खबर अनुसार चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघले देशभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ-आफ्नो स्वास्थ्य संस्थामा बुधबारदेखि विरोध कार्यक्रम संचालन गर्न आव्हान गरेको हो ।
चिकित्सकले बिहान एक घण्टा कालोपट्टी बाँधेर धर्ना, र्याली लगायतका विरोध कार्यक्रम गर्ने भएका छन् । अर्को निर्णय नगर्दासम्म प्रत्येक दिन दैनिक कार्य सुरु हुने समयबाट एक घण्टा विरोध कार्यक्रम गरिने संघका महासचिव डा. लोचन कार्कीले बताए ।
चिकित्सक संघको कार्यकारिणी समितिका पदाधिकारी, चिकित्सक संघका पूर्वअध्यक्ष, महासचिव, काठमाडौं उपत्यकामा रहेका विभिन्न अस्पतालका निर्देशक, विभिन्न विशेषज्ञ समाजका अध्यक्षका साथै अन्य सरकारी तथा निजी अस्पतालका चिकित्सकसँग छलफल गरी आन्दोलनमा जाने निर्णय गरिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४