काठमाडौं– विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टीमा गणतन्त्रवादी भनेर चिनिएका नेताहरुलाई छानीछानी कारबाही गरेका छन्। मिश्रले आफ्नो पक्षको केन्द्रीय कार्य सम्पादन समितिको बैठक डाकेर बोलाएर पार्टीमा गणतन्त्रवादी भनेर चिनिएका नेताहरुलाई कारबाही गरेका हुन्।
पार्टीका संयोजक मिलन पाण्डेलाई कारबाही गर्न स्पष्टीकरण मागिएको छ। पुस ४ सम्म स्पष्टीकरण नबुझाए पाण्डेलाई कारबाही गर्ने मिश्रको तयारी रहेको बताइएको छ। बागमती प्रदेशकी संयोजक रन्जु दर्शना र अन्तराष्ट्रिय समिति संयोजक सुरेश भट्टलाई पार्टीको जिम्मेवारीबाट बर्खास्त गरिएको छ। त्यस्तै, पार्टीका वरिष्ठ नेता केशव दाहाललाई प्रशिक्षण विभाग प्रमुखबाट हटाइएको छ। मिश्रले संसदीय दलका नेता रमेश पौड्याललाई फिर्ता बोलाउने तयारी गरेका छन्।
रवीन्द्र मिश्रले गत साउन ११ गते पार्टीमा मार्ग परिवर्तन( विचारभन्दा माथि देश भन्ने दस्ताबेज ल्याएपछि विवाद सुरु भएको हो। प्रगतिशील पार्टी भनेर चिनिएको पार्टीमा मिश्रले यस्तो प्रस्ताव ल्याएपछि पार्टी दुई कित्तामा विभाजित छ।
एकचोटि फुटेर गत मंगसिरमा एकीकरण गरेका रवीन्द्र मिश्र र मिलन पाण्डेले एकीकरण गर्दा पार्टीलाई गतिशील, मध्यवामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने र विगतका आन्दोलनका उपलब्धिलाई रक्षा गर्ने भनेर लिखित सहमति गरेका थिए। तर, मिश्रले एकीकरणलाई धोका दिएको आरोप पाण्डे पक्षको छ।