काठमाडौं– नेपाली कांगेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र तीन सहमहामन्त्रीको अन्तिम परिणाम आइसकेको छ।
आठ सहमहामन्त्री मध्ये यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ। बाँकी पाँच क्लस्टरको मत गणना आज(शुक्रबार) गरिने निर्वाचन समितिले जनाएको छ।
आज खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरबाट सहमहामन्त्री चुनिनेछन्। खसआर्यतर्फ देवराज चालिसे (शेखर पक्ष) र किशोर सिंह राठोर (देउवा पक्ष) उम्मेदवार रहेका छन् भने पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे (शेखर पक्ष) र जीवनबहादुर शाही (देउवा पक्ष)बीच प्रतिस्पर्धा भएको थियो।
त्यसैगरी, मधेशीतर्फ देउवा पक्षका महेन्द्र यादव र शेखर पक्षका रामकृष्ण यादवबीच प्रतिस्पर्धा भएको थियो भने मुस्लिमतर्फ फर मुल्लाह मन्सुर (देउवा पक्ष) र शेख वकील (शेखर पक्ष) चुनावी प्रतिस्पर्धामा छन्।
त्यसैगरी, थारुतर्फ देउवा पक्षबाट उमाकान्त चौधरी र शेखर पक्षबाट तेजुलाल चौधरी चुनावी मैदानमा छन्।
हिजो भएको मतगणनाबाट महिला र आदिवासी जनजाति समूहमा देउवा पक्षका महालक्ष्मी उपाध्याय (डिना) र भीष्मराज आङ्देम्बे विजयी भएका छन्। दलित समूहमा शेखर पक्षका जीवन परियार विजयी भएका छन्।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्त गोपालकृष्ण घिमिरेका अनुसार डिनाले २५३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २१०५ मत प्राप्त गरिन्।
आङ्देम्बेले २७११ मत पाए। उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत प्राप्त गरे। परियारले २२१२ मत पाए भने मानबहादुर विश्वकर्मा २१७५ मतमा पराजित भए।