काठमाडौं- नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदीप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।
निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीलाई सुदृढ र संगठित बनाई अघि बढाउने कुरामा सधै साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले निर्वाचन परिणामसँगै नेपाली कांगेसमा पुस्तान्तरण भएको भन्दै उनले वैचारिक रुपान्तरणका लागि विजयी पदाधिकारीहरुले नेतृत्व लिने विश्वास आफूले लिएको उनको भनाइ छ।
'म उहाँहरुलाई सहयोग गर्ने, पार्टीलाई सुदृढ बनाउने, संगठित बनाउने र अगाडि बढाउने कुरामा सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। नेपाली कांगेसमा पुस्तान्तरण भएको छ। अब वैचारिक रुपान्तरणका निम्ति साथीहरुले प्रयास गर्नुहुनेछ नेतृत्व लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। विधि व्यवस्थालाई कडाईका साथ लागु गरेर पार्टी चल्छ भन्ने मेरो विश्वास छ,' उनले भने।
उनले निर्वाचन परिणामले पुरानो र नयाँ नेतृत्वहरुको सम्मिश्रण पार्टीभित्र सिर्जना गराएको देखिएको भन्दै निर्वाचन पछि पार्टीभित्र आमएकता निर्माण हुने परिस्थिति बन्नेमा आफू विश्वस्त रहेको बताए।
पौडेलसँगै महामन्त्रीमा प्रतिस्पर्धी रहेका गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। गगनले ३०२३ मत ल्याएका छन् भने विश्वप्रकाशले १९८४ मत ल्याएर विजयी भए। कांग्रेसमा २ जना महामन्त्री हुने वैधानिक व्यवस्था छ।
प्रदीपले १३९३ मत प्राप्त गरेका थिए। डा प्रकाशशरण महतले १५५६ मत ल्याए भने मीनेन्द्र रिजालले ८०९ मत प्राप्त गरे। यस्तै राजाराम कार्कीले १०६ र ल्याए। उनीहरू चारै जना पराजित बनेका हुन्।
यसअघि कांग्रेस सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी ल्याउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवाले शेखर कोइरालालाई ८०० भन्दा बढी मतान्तरले पराजित गरेका थिए।
त्यसैगरी बुधबार राति सार्वजनिक भएको उपसभापतिको मतपरिणाम अनुसार पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। उपसभापतिमा अन्य उम्मेदवारहरु विजयकुमार गच्छदार, सुजाता कोइराला, महेश आचार्य, चन्द्र भण्डारी र दिव्यश्वरी शाह पराजित भएका हुन्।