काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले नेपाली कांग्रेसका संस्थापकहरूले सोचेजस्तै कांग्रेस बनाउने बताएका छन्। महामन्त्रीमा विजयी भएपछि मतदाताहरूलाई धन्यवाद दिन अनुपम फुडल्यान्डमा आयोजना गरिएको कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन्।
'संस्थापकले जुन सोच राख्नुभयो अब त्यस्तै पार्टी बनाउने हो। कांग्रेस शुद्ध बनाउने हो, सुदृढ बनाउने हो,' महामन्त्री थापाले भने, 'यो पार्टीमा कसैलाई पनि अन्याय हुन नदिने हो।'
महाधिवेशनका क्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूलाई ठाउँठाउँमा चोट लागेको बताएका थापाले ती घाउमा मल्हम लगाउनुपर्ने आफ्नो दायित्व भएको बताए।
'यो अधिवेशनपछि कांग्रेसप्रति गुनासो गर्नेहरूलाई पनि मुक्त गराउने दायित्व पनि आएको छ। म सिंगो पार्टीको महामन्त्री हो। हिजोसम्म एक समूहको उम्मेदवार बनाएको थियो। तर अब सिंगो पार्टीको महामन्त्री बनेको छु,' थापाले भने।
उनले अब आफूले निरन्तर रूपमा खटेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। 'तपाईंले महामन्त्री बनाउनु भयो, आजसम्म खट्नु भयो। आजदेखि खट्ने पालो मेरो हो। तपाईंको विश्वासको भारी बोक्ने पालो मेरो हो। अबका ४ वर्ष गलतलाई महामन्त्री बनाएँ भनी महसुस गर्न दिने छैन।'
उनले कांग्रेसमा सबैलाई जोडिन मन लाग्ने पार्टी बनाउने बताए। उनले आम कार्यकर्ता र सचिवालय हुँदै परिवारका सदस्यप्रति पनि आभार व्यक्त गरेका थिए।