काठमाडौं– नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार भएको मतगणनामा दुई महामन्त्री पदमा गगन र विश्वप्रकाश विजयी भएका हुन्।
महामन्त्रीमा विजयी भएका गगनले ३०२३ मत ल्याएका छन् भने विश्वप्रकाशले १९८४ मत ल्याएका छन्। महामन्त्रीका अन्य चार उम्मेदवारहरु प्रकाशशरण महत, मिनेन्द्र रिजाल, राजाराम कार्की र प्रदीप पौडेल पराजित भएका छन्।
महतले १५५६ मत ल्याएका छन्, रिजालले ८०९ मत, कार्कीले १०६ र प्रदीपले १३९३ मत ल्याएका हुन्। कांग्रेसको विधान अनुसार महामन्त्रीका उम्मेदवाहरुमध्ये बढी मत ल्याउने उम्मेदवार विजयी हुने प्रावधान छ। सोही प्रावधान अनुसार गगन र विश्वप्रकाश विजयी भएका हुन्।
गत सोमबार भएको निर्वाचनमा महामन्त्रीका लागि कुल ४ हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ।
यसअघि कांग्रेस सभापतिका लागि भएको निर्वचानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन भएको थियो। दोस्रो चरणको निर्वाचनमा देउवाले शेरखलाई ८०० भन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
त्यसैगरी बुधबार राति सार्वजनिक भएको उपसभापतिको मतपरिणाम अनुसार पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। उपसभापतिमा अन्य उम्मेदवारहरु विजयकुमार गच्छदार, सुजाता कोइराला, महेश आचार्य, चन्द्र भण्डारी र दिव्यश्वरी शाह पराजित भएका हुन्।