काठमाडौं– नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्माले सुन्दरीजलमा रहेको विशेश्वरप्रसाद कोइरालाको शालिकमा पुगेर उनलाई सम्झिने र जिम्मेवारी सुरु गर्ने बताएका छन्।
सानेपास्थित मतगणनास्थलमा रहेका विश्वप्रकाशले सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवारी घोषणा गरेकै स्थानमा पुगेर जितको खुसियाली मनाउने बताए। ‘मैले उम्मेदवारी घोषणा पनि सुन्दरीजलमा रहेको बीपीको शालिकमा पुगेर गरेको थिएँ। अब जितेको औपचारिक घोषणापछि पनि त्यहाँ पुगेर बीपीलाई सम्झने छु,’ उनले भने।
शर्मा आजै साँझ ५ बजे सुन्दरीजल पुग्ने भएका छन्। त्यहाँ पुगेर उनले बीपी कोइरालालाई राखिएको माटोलाई ढोगेर मन्तव्य प्रकट गर्दैै आफ्नो जिम्मेवारी आत्मसात् गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
विश्वप्रकाश शर्मालाई कांग्रेसमा 'साना बीपी' पनि भनिन्छ। उनी आफूले पनि यो कुरा स्वीकार गर्ने गरेका छन्।
शर्माले कांग्रेसमा रुपान्तरणको यात्राको सुरु भएको पनि बताए। ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन। सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो,’ शर्माले भने, ‘फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु हो।’