काठमाडौं– नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित हुने निश्चित भएको छ। कांग्रेस मुख्य कार्यालय सानेपामा भइरहेको मतगणना अन्तिम चरणमा पुगेको छ।
महामन्त्रीमा गगनले फराकिलो अग्रता बनाएका छन्। दोस्रोमा विश्वप्रकाश शर्मा छन्। अर्का उम्मेदवार डा. प्रकाशशरण महत र शर्माबीच ठूलो मतान्तर छैन। अहिलेसम्म प्रकाशरणभन्दा विश्वप्रकाश अगाडि छन्।
३७ सय २० मत गन्दा गगन थापाले २ हजार ४०९, विश्वप्रकाश शर्माले १५ सय ३१, मीनेन्द्र रिजालले ६४४, प्रकाशशरण महतले १२२३, प्रदीप पौडेलले ११०७ र राजाराम कार्कीले ८८ मत पाएका छन्।
महामन्त्रीका लागि ६ जना प्रतिस्र्धामा छन्। दुईजना निर्वाचित हुनेछन्।
महामन्त्रीमा गगन र मिनेन्द्र शेखर कोइराला समूहबाट उम्मेदवार बनेका थिए भने प्रदीप र प्रकाशशरण शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्। त्यसैगरी विश्वप्रकाश प्रकाशमान सिंह समूहबाट र राजारामले विमलेन्द्र निधि समूहबाट उम्मेदवारी दिएका थिए।
यसअघि सभापतिमा शेरबहादुर देउवा र दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्।