काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा घोषणा गरेका छन्। कांग्रेस महामन्त्रीका उम्मेदवार रिजालले मतगणनामा पछि परेपछि ट्विटरबाट राजीनामा घोषणा गरेका हुन्।
‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु,’ उनले ट्विटरमा लेखेका छन्।
नेपाल समयसँगको कुराकानीमा रिजालले राजीनामा दिन लागेको पुष्टि गरे। अहिले राजीनामाको घोषणामात्रै गरेको र महामन्त्रीको अन्तिम मत परिणाम आएपछि औपचारिक रुपमा राजीनामा दिने उनले जानकारी दिए।
कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत गत सोमबार भएको मतदानको मतगणना अहिले पार्टी मुख्यालय सानेपामा भइरहेको छ। प्रारम्भिक नतिजा अनुसार सबैभन्दा अगाडि गगन थापा छन्। थापालाई पछ्याइरहेका छन् विश्वप्रकाशले। विश्वप्रकाशपछि प्रकाशशरण महत छन् र उनलार्य पछ्याइरहेका छन् प्रदीप पौडेलले। मीनेन्द्र रिजाल भने प्रदीपभन्दा पनि पछाडि छन्।
प्रकाशित: Dec 16, 2021| 13:21 बिहीबार, पुस १, २०७८