काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। कांग्रेस मुख्यालय सानेपामा अहिले कांग्रेसका दुई महामन्त्रीका लागि मतगणना भइरहेको छ।
प्रारम्भिक नतिजा अनुसार सबैभन्दा अगाडि गगन थापा छन्। थापालाई पछ्याइरहेका छन् विश्वप्रकाशले। विश्वप्रकाशपछि प्रकाशशरण महत छन् र उनलार्य पछ्याइरहेका छन् प्रदीप पौडेलले। मीनेन्द्र रिजाल भने प्रदीपभन्दा पनि पछाडि छन्।
गगनले फराकिलो अग्रता लिएका छन्। २१ सय २० मत गन्दा गगन थापाले १३ सय ८५ मत प्राप्त गरेका छन्। गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले ८५१ मत प्राप्त गरेका छन्।
तेस्रोमा रहेका प्रकाशशरण महतले ६९८ मत ल्याउँदा प्रदीप पौडेलले ६२१ मत ल्याएर महतलाई पछ्याइरहेका छन्। प्रदीपपछि मिनेन्द्र रिजालले ३६५ मत प्राप्त गरेका छन्। राजाराम कार्कीले ५९ मत ल्याएका छन्।
महामन्त्रीमा गगन र मिनेन्द्र शेखर कोइराला समूहबाट उम्मेदवार बनेका थिए भने प्रदीप र प्रकाशशरण शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्। त्यसैगरी विश्वप्रकाश प्रकाशमान सिंह समूहबाट र राजारामले विमलेन्द्र निधि समूहबाट उम्मेदवारी दिएका थिए।
यसअघि सभापतिमा शेरबहादुर देउवा र दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्।