काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना कांग्रेस मुख्यालय सानेपामामा चलिरहेको छ।
प्रारम्भिक नतिजा अनुसार महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्। निर्वाचन समितिले यतिबेलासम्म ७ सय मत गणना गरिसकेको छ। र, अब प्रत्येक हजार मात गणना हुँदा मात्रै मन्त्रालयले अपडेट दिने जनाएको छ।
७०० मतगणना गर्दा गगन थापाले ४१८ मत प्राप्त गरेका छन् भने विश्वप्रकाश शर्माले २७४ मत प्राप्त गरेका छन्।
त्यसैगरी डा. प्रकाशशरण महतले २३०, प्रदीप पौडेलले २३६ र डा. मिनेन्द्र रिजालले १२० मत प्राप्त गरेका छन्। त्यसैगरी महामन्त्रीका अर्का उम्मेदवार डा. राजराम कार्कीले १२ मत प्राप्त गरेका छन्।
महामन्त्रीमा गगन र मिनेन्द्र शेखर कोइराला समूहबाट उम्मेदवार बनेका थिए भने प्रदीप र प्रकाशशरण शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्। त्यसैगरी विश्वप्रकाश प्रकाशमान सिंह समूहबाट र राजारामले विमलेन्द्र निधि समूहबाट उम्मेदवारी दिएका थिए।
यसअघि सभापतिमा शेरबहादुर देउवा र दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्।