काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा नेता धनराज गुरुङले रोचक जित हात पारेका छन्। विजयकुमार गच्छदारलाई दुई मत अन्तरले मात्रै पराजित गर्दै गुरुङ उपसभापतिमा विजयी भएका हुन्।
गच्छदार शेरबहादुर देउवाको टिमबाट उपाध्यक्षका प्रत्यासी थिए भने गुरुङ डा. शेखर काेइरालाका पक्षबाट। कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का २१ सय २१ मतले विजयी हुँदा गुरुङले १९ सय ८ मत ल्याए। गच्छदारले १९ सय ६ मत ल्याएका थिए। खड्का देउवा पक्षीय नेता हुन्।
उपाध्यक्षमा ७ जना प्रतिस्पर्धी थिए। अन्य प्रतिस्पर्धीमध्ये डा. चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ ल्याएका थिए।
०४५ सालमा सुर्खेत सभापति भएका खड्का ०४८ को आमनिर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित भए। ०५१ को मध्यावधि चुनाव जितेका उनी राज्य व्यवस्था समितिको सभापति बने। त्यही बेला उनले पार्टीमा आफ्नो पकड बढाए ।
२०५६ को संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित भएका खड्का २०७० सालमा भएको चुनावमा जितेका थिए भने २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए।
उनले सूचना तथा सञ्चारमन्त्री र गृहमन्त्रीको जिम्मेदारी सम्हालिसकेका छन्। लामो समयदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहिआएका खड्का पार्टी विभाजन हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिकका पनि केन्द्रीय सदस्य भएका थिए। देउवालाई पार्टी फुट्दादेखि नै साथ दिएका खड्का देउवाका विश्वास पात्र मानिन्छन्।
यस्तै गुरुङले २०३६ सालको आन्दोलनमा सहभागी भएर उनले विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका हुन्। उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति, तरुण दलको महासचिव, संविधानसभा सदस्य, कांग्रेस स्याङजा जिल्ला कार्यसमिति सदस्य हुँदै नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएका छन्। यसअघि उनी दुई कार्यकाल कांग्रेस केन्द्रीय सदस्य थिए।
उनले केन्द्रीय सदस्यबाट एकै पटक कांग्रेस उपसभापतिमा फड्को मारेका छन्।
गच्छदारको राजनीतिक यात्रा निकै लामो छ। २०३६ सालबाट नेपाली कांग्रेसको राजनीति थालेका गच्छदार मधेशका प्रभावशाली नेता हुन्।
पछि गच्छदारले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टी गठन गरे। र, मधेश राजनीति गर्न थाले। मोरङका नेता गच्छदारले उपप्रधानमन्त्रीसम्म भएका छन्।
मधेसबाट सधै राजनीतिको शक्तिकेन्द्रमा बस्न सिपालु नेता गच्छदारले पुन: कांग्रेसमा फर्किए। कांग्रेस फर्किएपछि उनी देउवा निकट रहे। देउवाले आफ्नो टिममा राखेर गच्छदारलाई पार्टी उपसभापतिको प्रत्यासी पनि बनाए। तर, १४ महाधिवेशनमा गच्छदार धनराज गुरुङसँग दुई मतले पराजित हुन पुगेका छन्।