काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज महामन्त्रीको मतगणना हुने भएको छ। बिहीबार बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल चुनावी मैदानमा छन्। यस्तै डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्। प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको प्रतिस्पर्धामा छन्।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।