काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का विजयी भएका छन्। भर्खरै सम्पन्न मतगणनामा उनीहहरू विजयी भएका हुन्।
विजयी खड्काले १९०१ र गुरुङले १७४१ मत प्राप्त गरेका छन्। गुरुङले १६ मत बढी प्राप्त गरी देउवा प्यानलका विजयकुमार गच्छदारलाई पराजित गरेका हुन्। गच्छदारले १७२५, चन्द्र भण्डारीले १४६५, सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरे।
गुरुङ शेखर कोइरालाको प्यानलबाट उपसभापतिको उम्मेदवार बनेका थिए भने खड्का शेरबहादुर देउवा प्यानलका हुन्। दुवै प्यानलका एक-एक जनाले उपसभापतिमा बाजी मार्दा दुवै पक्षका एक एक जना भने चयन हुन सकेनन्।
सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। महामन्त्रीलगायतका पदको मतगणना हुन बाँकी छ। निर्वाचन समितिले बिहीबार महामन्त्री पदको गणना गरिने जानकारी दिएको छ।