काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफूले सभापति पदमा पराजय व्यहोरे पनि कुनै पनि कुण्ठा नभएको बताएका छन्। महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद दिनका लागि आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'पार्टीमा बेथिति भए सशक्त रुपमा प्रस्तुत हुन्छौँ। मेरो हारलाई स्वाभाविक रूपमा लिएको छु। ममा कुनै कुण्ठा छैन,' उनले भने, 'पराजयमा पनि राम्रो कुरा के देखेँ भने हामीले लिएको कदम विजयी भएको छ। त्यसकारण पनि हामी विजयी भएको मलाई लागेको छ। हाम्रा एजेन्डा स्थापित भएका छन्।'
आफूहरूले युवाका लागि अवसरै अवसर खोलेको पनि उनले बताएका थिए। 'म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्ने भएको विश्वास लिएको छु। निरन्तर रुपमा तपाईंहरूको घरदैलोमा आइपुग्नेछु। टिमका साथीहरू पनि पुग्नुहुन्छ,' उनले भने।
आफूहरू भागबन्डा र गुटबन्दीमा नलाग्ने तर काम गर्न नछोड्ने उनको भनाइ थियो। 'राम्रो काम गरेर उहाँ (अन्य पक्ष)हरुलाई सोच्न बाध्य बनाउँछौँ,' कोइरालाले भने।
वडादेखि संघर्ष गर्दै महाधिवेशन प्रतिनिधि बनेका र आफूलाई मत दिएकाहरूलाई कहिल्यै नबिर्सने उनले बताएका थिए। 'यही मायाले मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्छु,' उनले मन्तव्य टुग्याए।