लहरीलहरी कान्छी हेर्दै वरिपरि
यानी खेल्दै लुकामारी
घुम्न जाउँ इन्जिन गाडीमा
एकतारेका यी शब्दहरु कम्पोज गर्दा सर्वदमन योगी अर्थात् एसडी योगी गुमनाम थिए। नयाँ बानेश्वरस्थित सूत्र रेकर्डिङ स्टुडियोमा कम्प्युटर प्राविधिकको काम गर्थे। दैनिक रेकर्ड हुने गीतको ‘टेक’ लिन्थे। बचेको समय एकान्तमा मन परेका शब्दहरु गुनगुनाउँथे।
आफूले जानेको काम आफ्नै मन राख्न गर्थे उनी। लखनउको ‘भातखण्डे विश्वविद्यालय’बाट शास्त्रीय संगीतमा स्नातक गरेका एसडी शास्त्रीय संगीतममै ‘करिअर’ बनाउन चाहन्थे। तर, ५ वर्षअघि सूत्र रेकर्डिङमा काम पाएपछि उनले प्राविधिक भएर चित्त बुझाउनु पर्यो। भन्छन्, ‘टेक्निकलको पनि ज्ञान हुनुपर्छ भनी त्यहाँ पुगेको थिएँ।’ प्राविधिक कामबाटै उनको सांगीतिक यात्राले नयाँ मोड लियो।
एक साँझ रेकर्डिङ स्टुडियोमा चलचित्र ‘लिलिबिली’को टिम गीत खोज्न आइपुगेको थियो। उनले सूत्रमा काम गर्नु अगाडि एउटा ‘लहरीलहरी’ गीत संगीतबद्ध गरिसकेका थिए। त्यही गीतको ‘डमी’ सुनाए। लिलिबिलीको टिमलाई शब्द र संगीत दुवै मन पर्यो। उनले कम्पोज गरेको थप अर्को ‘हावा सरर...’ बोलेको गीत पनि चलचित्रमा समेट्न चाहे। गीत गाउने अवसर पनि पाए। फिल्म त खासै चलेन तर गीत चल्दिनाले उनी चल्तीका गायक तथा संगीतकारमा दरिए।
मान्छेका फरकफरक स्वाद हुन्छन्। संगीत पारखी पनि फरकफरक हुन्छन्। अहिले बजारमा क्लासिकल, सेमी क्लासिकल मात्रै होइन लोक र परम्परागत गीतसंगीतलाई फ्युजन गरेर ल्याएका छन्। स्टुडियोमा आउनेहरु पनि शास्त्रीय संगीत भन्दा पनि चल्ने गीत खोज्थे। बजारमा चल्ने अथवा स्टेजमा प्रस्तुति दिँदा नाच्न सकिने गीत खोज्थे। समय पनि फ्युजन संगीतको थियो। यसलाई उनले ‘क्याच’ गरे। त्यसपछि शास्त्रीय संगीतको स्कोप छैन भन्ने लाग्दै गयो उनलाई। भन्छन्, ‘गर्न मन त शास्त्रीय संगीत नै हो तर जुन संगीत बजारले खोज्दैन त्यसको स्कोप हुँदो रहेनछ।’
‘कर्लीकर्ली कपाल तिम्रो’
जे पढेर आएका थिए त्यो मनकै कुनामा थन्क्याए। स्टुडियोमा अरुको गीतको टेक लिँदै चलनचल्तीका ‘फ्युजन म्युजिक’मा रमाउन थाले उनी। जति नै उत्कृष्ट शास्त्रीय संगीत भए पनि नेपाली दर्शक–स्रोताले ओठमा झुन्डिने टिपिकल मौलिक गीत रुचाउँछन्। ‘लोक प्याटर्न’का गीत रुचाउँछन्। मौलिकपन झल्किने गीत खोज्छन्। सूत्रमा काम गर्दा दर्शकको रुची बुझ्दै गए। त्यो सिकाइले ‘फ्युजन म्युजिक’मा उनको लगाव बढ्दै गयो। स्टुडियोमा आउने पाहुनालाई लिलिबिलीको गीत सुनाउँथे। हँसिमजाकमा कामको अपेक्षा राख्थे। गीतकारहरुसँग गीत मागेर संगीतबद्ध गरी राख्थे।
आफ्नै स्वरमाथि विश्वास थिएन उनलाई तर संगीत गर्ने हुटहुटी भने कहिल्यै सेलाएन। भन्छन्, ‘मलाई आफ्नो भ्वाइसमा कन्फिडेन्स थिएन तर म्युजिक कम्पोजमा थियो।’ फ्युजन गीत कम्पोज गर्ने लहरैलहरमा उनले थुप्रै गीत संगीतबद्ध गरेका थिए। आफ्नै स्वरले डमी बनाउँथे। यस्तैमा एकदिन नायक अनमोल केसीको फोन आयो उनलाई। फिल्म ‘क्याप्टन’को छायांकन सकेर केसी फिल्मको ‘प्रमोसन सङ’को खोजीमा थिए। एसडीले आफूसँग भएका केही गीत सुनाउन खोजे। हर्क साउद र मनिष ढकालको शब्द ‘कर्लीकर्ली कपाल तिम्रो... बोलको गीत उनले सुनाए। क्याप्टेनको टीमले डमी मन परायो। गायकमा उनी नै छानिए। उनलाई गायिका मेलिना राईले साथ दिइन्। त्यो गीत पनि चल्यो। भन्छन्, ‘यो गीत रुचाइदिएपछि म फ्युजन म्युजिकतिर आकर्षित भएँ।’
एक साँझ रेकर्डिङ स्टुडियोमा चलचित्र ‘लिलिबिली’को टिम गीत खोज्न आइपुगेको थियो। उनले सूत्रमा काम गर्नु अगाडि एउटा ‘लहरीलहरी’ गीत संगीतबद्ध गरिसकेका थिए। त्यही गीतको ‘डमी’ सुनाए। लिलिबिलीको टिमलाई शब्द र संगीत दुवै मन पर्यो।
संगीत बजारमा आफूलाई स्थापित गराउन गाह्रो भइरहेको बेला कर्लीकर्ली कपाल तिम्रो चलिदिएपछि उनले हिँडेको बाटो फराकिलो हुँदै गयो। शास्त्रीय संगीत उनको ‘जनरा’ भए पनि उनले फ्युजन संगीतमा आफूलाई व्यस्त बनाउन थाले। भन्छन्, ‘मैले शास्त्रीय र फ्युजनमा एक रोज्नुपथ्र्यो। चल्नका लागि फ्युजन रोजें।’
बजारले चल्ने गीत खोज्छ। छिटो युट्यब भ्युअर्स बढ्ने गीत खोज्छ। टिपिकल ‘लाइट सङ’ खोजिरहेको बेला उनले शास्त्रीय संगीत भन्दै हिँडेनन्। बरु आफूलाई बजारको लयमा ढाल्दै लगे। किनकि उनलाई गीत मात्रै गर्नु थिएन, संगीत क्षेत्रमा टिक्नु पनि थियो।
दूतावासको जागिर छोडे
कहिलेकाहीँ आफ्नै चित्त बुझाउन सुख छोड्न मन लाग्छ। सुखले शान्ति मिल्दैन। आफूले देखेको सपना पूरा गर्न दुःखसँग पनि सामना गर्ने हिम्मत आउँछ। यस्तै हिम्मत बटुलेर एसडीले काठमाडौंस्थित भारतीय दूतावासमा खाइरहेको जागिर छोडे। यही जागिरले काठमाडौंसम्म ल्याएको थियो उनलाई। भन्छन्, ‘बुवाका कारण जागिर खाएको थिएँ।’ दाङ सत्बरियामा रहेको एक सरकारी स्कुलका हेडमाष्टर थिए, उनका बुवा। त्यही स्कुलका विद्यार्थी थिए, उनी। स्कुलदेखि घरसम्म बुवाको निगरानीमा हुनु परेकाले खुलेर गीत गाउन पाउँदैनथे। लुकेर गीत गाउनुपर्थ्यो। आफ्ना मिल्ने साथीहरुसँग गीत गाउँदा उनका बुवाले हकार्थे। ‘तेरो स्वरै छैन त्यसै गीत गाइटोपलिन्छ भन्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘खासमा बुवालाई गीतसंगीतमा रुची थिएन, स्वभाव पनि कडा थियो।’
बुवाको आँखा छलेर उनी गीत गाउँथे। तर, उनका बुवा भने छोरोले रामरी पढोस्, जागिर खाओस् चाहन्थे। एसडी भने गीत संगीतको तलतलमा परिसकेका थिए।
एसएलसी पासपछि उनी आईए पढ्न नेपालगन्जतिर लागे। घरमा बुवाको कारण खुम्चिएका एसडी नेपालगन्ज सहरमा खुल्न पाए। गीतसंगीत रुचाउने साथीहरुको संगत गर्न थाले। तर, घरबाट बुवाले बेलाबेला सावधानी गराउँथे। भन्छन्, ‘गीतसंगीतमा लागेर बरालिने होइन है भन्नुहुन्थ्यो। मैले ‘हुन्छ हुन्छ’ भन्दै टार्थे।’
बुवालाई ढाँटीढाँटी उनी गीतसंगीतको बाटो हिँडे। गीतसंगीतमा रुची भएका साथीहरुको जम्बो टिम बनाए, नेपालगन्जमा। धेरैले संगीत सिक्न भारततिर जाउँ भने तर उनको हिम्मत आएन। गीत गाउन नदिने बुवाले संगीत पढ्न दिनुहोला भन्ने उनलाई लागेन। भन्छन्, ‘संगीत क्षेत्रमा लाग्न बाहिरभन्दा पनि घरमै संघर्ष गर्न पर्यो।’
उनी संगीत पढ्ने अठोट बनाएर घर फर्किए। घरमा पुगेर बुवाआमालाई संगीत पढ्न लखनउ जाने इच्छा बताए। इन्जिनियर, साइन्स, कमर्स पढेका छिमेकीका छोराहरुको उदाहारण दिएर उनलाई हप्काए बुवाले। उनले पनि आफ्नो जिद्दी छोडेनन्। ‘संगीत पढ्न पाइनँ भने अरु पढ्दिनँ। बरु यस्तै बस्छु। आफ्नो अडान राखेर घरमैं धर्ना दिएँ’, उनी भन्छन्, ‘बुवा त गल्नु भएन तर आमा गल्नुभयो।’
आमाले दिएको दश हजार रुपैयाँ बोकेर उनी सन् २००६ मा लखनऊ हिँडे। लखनऊ पुगेर गाउँका दाजुहरुलाई संगीत पढ्न आएको बताए। हाँसेर उडाए उनलाई। दश हजारले संगीत पढ्न सकिने सम्भावना नदेखिएपछि उनले त्यो पैसाले हारमोनियम किने। आफूले जानेको गीत गाउँदै हारमोनियममा हात बसाउँदै गए। लखनऊतिरै काम खोजे। दिउँसो काम गर्दै साँझबिहान हारमोनियम बजाउँदै एक वर्ष बिताइदिए।
बुवाको आँखा छलेर उनी गीत गाउँथे। तर, उनका बुवा भने छोरोले रामरी पढोस्, जागिर खाओस् चाहन्थे। एसडी भने गीत संगीतको तलतलमा परिसकेका थिए।
हारमोनियम किनेको छ, सानतिनो काम गर्दैछ भन्ने खबर गाउँमा पुग्यो। बुवाको मनले मानेन। छोरो भेट्न लखनऊ पुगे। एसडीको खुसीको लागि बुवाले ‘शास्त्रीय संगीत’ पढाउन लखनऊको केशरबागमा रहेको ‘भातखण्डे विश्वविद्यालय’मा भर्ना गरिदिए। बस्नलाई विश्वविद्यालयको होस्टेल भयो। सानोतिनो काम गरेर गुजारा गरेका एसडीका दिन फिरे।
तनमन लगाएर उनी पढ्न थाले। विश्वविद्यालयमा भेटिए शास्त्रीय गायक राशिद खानका ‘क्लासमेट’ बंगाली संगीत शिक्षक प्राध्यापक पार्थ पर्थिम दास। उनको शिष्य भएर दैनिक ८ घण्टा सेल्फ रियाज गर्थे। कलेजमा छुट्टै रियाज हुन्थ्यो। ती कलेजका दिन उनले कहिल्यै फ्युजन गीत गाएनन्। भन्छन्, ‘भाग्यले उहाँजस्तो गुरु पाएँ, त्यसैले लाइट सङ कहिल्यै गाइएन। प्योर क्लासिकल म्युजिक गाइन्थ्यो।’
सन् २०१३–०१४ मा ‘शास्त्रीय संगीतबाट स्नातक गरेर दाङ फर्किए। शास्त्रीय संगीत पढेर आएको छोरो देखेर बुवा कत्ति खुशी हुनुहुन्थेन। बुवा खुशी राख्न उनले जागिर खानुपर्थ्यो। जागिर खाने कसरी त? यस्तैमा लखनऊबाट उनका साथीहरुले नेपाल स्थित भारतीय दूतावासको साइट हेर्न भने। सन् २०१५ तिर दूतावासले संगीत शिक्षक खोजेको विज्ञापन निकाल्यो। एसडीले पनि अनलाइन आवेदन दिए। दूतावासले अन्तरवार्ताका लागि काठमाडौं बोलायो। काठमाडौं आएर अन्तरवार्ता दिएपछि उनी पास भए।
भारतीय दूतावासमा उनको दैनिकी साना बालबालिकालाई ‘सारेगाम’ सिकाएर बित्न थाल्यो। पैसा पनि राम्रै पाएका थिए तर खुशी हुन सकेनन्। केटाकेटीलाई संगीत पढाएर सीमित हुनुपर्दा उनको मनले मानेन। भन्छन्, ‘जागिर राम्रो थियो बुवाआमा खुशी हुनुुहुन्थ्यो तर घुटन हुन्थ्यो मलाई। बाहिर आउन चाहन्थें।’
एकदिन नाताले हजुरबा पर्ने गायक संगीतकार शिशिर योगीसँग भेटे। जागिर छोड्ने कुरा गरे। खुलेर संगीत क्षेत्रमा लाग्ने इच्छा सुनाए। हुँदाखाँदाको राम्रो जागिर छोडेर बाहिर निस्किनु आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु थियो। उनी यो चुनौती मोल्न तयार भए। शिशिरले सूत्र रेकर्डिङ स्टुडियोमा मान्छे चाहिएको कुरा बताएपछि उनले जागिर छोडे।
जागिर छोडेको खबर घरमा पुग्यो। उनको बुवा रिसाए तर एसडी खुशी थिए। दूतावासको जागिर छुटेसँगै उनको आयस्रोत हरायो। भइरहेको डेरा छुट्यो। रेकर्डिङ स्टुडियोमै उनी बास बस्न थाले। कहिले सोफामा कहिले चिसो भुइँमा रात काट्न थाले। भन्छन्, ‘म्युजिकको नसामा परेर ती दिन आफैंले दुःख बेसाएँ।’
रोकिँदै निरन्तरता
गीतसंगीत उद्योगमा बामे सर्दै गरेका एसडी एकाध गीत बजारमा आएसँगै ठूला व्यानरका फिल्मकर्मीसँग जोडिन पुगे। चलचित्र ‘अप्पा’को ‘अमिलो’ गीत आयो। चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ‘दुबो फुल्यो’ गीत पनि आयो। तर, दुर्भाग्य ‘दुबो फुल्यो’ गीत संगीतकार आलोकश्रीको गीत ‘फोटो सिरानी’सँग मिलेपछि विवादमा मुछिनु पर्यो। नेपालमा गीतको सानो अंश मात्र मिलेमा पनि प्रतिलिपि अधिकार धाउने मुद्दामामलामा जाने क्रम बढेको छ। तर एसडी आफ्नो कामप्रति इमान्दार थिए, आलोकश्रीले संयोग भनेर मिले।
‘लकडाउनका कारण चलचित्रका दुई दर्जन गीत रोकिएका छन्।’ उनले भने। लकडाउन अघि दर्जनौं चलचित्रमा गायन तथा संगीत दिएका थिए तर ती चलचित्र प्रदर्शनमा आएनन्। दुईचार वर्ष अगाडि बनाएका गीत चल्दैनन् कि भन्ने लाग्छ उनलाई, अहिले। भन्छन्, ‘दर्शकले नयाँ स्वादको गीत सुनिरहेका बेला तीन चार वर्ष अगाडि बनेका गीत रुचाउँदैनन् कि भन्ने हो।’
भारतीय दूतावासमा उनको दैनिकी साना बालबालिकालाई ‘सारेगाम’ सिकाएर बित्न थाल्यो। पैसा पनि राम्रै पाएका थिए तर खुशी हुन सकेनन्। केटाकेटीलाई संगीत पढाएर सीमित हुनुपर्दा उनको मनले मानेन।
जब गीत रोकियो, उनी निकै निराश भए। सांगीतिक क्षेत्रमा माथि उठ्दै गरेका गायक–संगीतकारका लागि लकडाउन श्राप नै भयो। उनले आफ्ना डेढ वर्ष निकै कष्टका साथ गुजारे। भन्छन्, ‘म फ्रस्ट्रेसनमा गएँ। सांगीतिक क्षेत्रमा लागेर गल्ती गरें भन्ने भयो, बुवाले सम्झाएको खुब याद आयो।’ चलचित्रका गीत रोकिए पनि उनले अन्य गीतहरु बनाइरहे। गीतसंगीतबाट गुजारा नभए पनि पलायन हुन सकेनन्। ‘फुल टाइम म्युजिसियन’ भएर काम गर्दै गए। भन्छन्, ‘यो क्षेत्रबाट भाग्न सकिनँ। अब यसैलाई निरन्तरता दिने हो।’
अन्तरमुखी स्वभावका एसडी एकान्तमै बढी रमाउँछन्। गीतको ‘मुखडा’ बनाउँछन्। आफूलाई निकै व्यस्त राखेका छन्। तर, संगीत गरेर परिवार खुशी राख्न सक्छु भन्ने ह्याउ उनलाई अझै छैन। संगीतबाटै सबथोक पुर्याउने ग्यारेन्टी उनी परिवारलाई दिन सक्दैनन्। भन्छन्, ‘संगीत गरेरै घरव्यवहार चलाउन सक्दिनँ अझै।’
जीवनको ३४ औंवसन्तमा हिँडिरहेका एसडी सुन्दा कर्कश लाग्ने ध्वनी बाहेक मधुर सुनिने सबै ध्वनी संगीत मान्छन् जसलाई उनले आफ्नो ‘प्यासन’ बनाए। रोकिँदैरोकिँदै सांगीतिक यात्रामा हिँडेका एसडी भन्छन्, ‘ढिलो सही एकदिन कसो स्थापित नभइएला।’