काठमाडौं- भ्रमणकारी टोली वेस्ट इन्डिजलाई दोस्रो टी-२० क्रिकेटमा पराजित गर्दै घरेलु टोली पाकिस्तानले शृंखलामा कब्जा जमाएको छ।
मंगलबार कराँचीमा भएको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले पराजित गरेको हो। यससँगै पाकिस्तानले तीन खेलको शृंखला एक खेल अगावै २-० अन्तरले आफ्नो पक्षमा पारेको हो।
पाकिस्तानले दिएको १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा अलआउट हुँदै मात्र १६३ रनमा समेटियो। वेस्ट इन्डिजका लागि ब्राण्डन किङले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले। पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। पाकिस्तानका इफ्तिखर अहमेदले सर्वाधिक ३२ रन जोड्दा हेइदर अलीले ३१ रनको योगदान गरे।
वेस्ट इन्डिजका ओडीएन स्मिथले २ विकेट लिए। यस अघि पहिलो खेल पाकिस्तानले ६३ रनले जितेको थियो। दुई टोलीबीचको अन्तिम टी-२० खेल भोलि बिहीबार हुनेछ।