काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा नजितेपछि दोस्रो चरणमा सहयोग जुटाउन विमलेन्द्र निधिसँग पनि साथ खोजेका छन्। उनले आफूलाई समर्थन गर्न भन्दै पहिलो चरणको सभापतिका प्रतिस्पर्धी निधिलाई भेट्न उनको निवास मध्यबानेश्वर पुगेका हुन्।
देउवाले यसअघि बिहान प्रकाशमान सिंहलाई चाक्सीबारी पुगेर दोस्रो चरणमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए। सिंहले देउवालाई नै समर्थन गर्ने जनाइसकेका छन्। निधिले भने कसलाई समर्थन गर्ने खुलाइसकेका छैनन् ।
कांग्रेसका चौधौं महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ। सोमबार बिहान घोषित मत परिणामअनुसार देउवाले सबैभन्दा बढी २२५८ मत ल्याएका छन्। उनले ८३ मत पुर्याउन नसक्दा निर्वाचन हुन लागेको हो। निर्वाचनमा कुल ४६७९ मत खसेको थियो।
अर्का प्रतिस्पर्धा शेखर कोइरालाले १७२९ मत पाएका छन्। यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए। यी तीनैजनाको मत जोड्दा ६४३ मत हुन्छ। जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब ६ सय मत चाहिन्छ।
अब देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ। यस्तोमा पहिलो चरणको निर्वाचनमा तेस्रो र चौथो भएका सिंह र निधि निर्णायक बन्ने देखिएका छन्। पहिलो चरणमा देउवा र कोइरालाबीच ५५६ को मतान्तर छ। दोस्रो चरणको निर्वाचन दिउँसो साढे तीन बजेदेखि हुँदै छ।