काठमाडौं– नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी सभापतिका लागि शेखर कोइरालाको पक्षमा खुल्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई दबाब दिएका छन्। वरिष्ठ नेता पौडेलले मंगलबार लैनचौरमा आयोजना गरेको चियापानमा सहभागी महाधिवेशन प्रतिनिधि र कार्यकर्ताले पौडेलले कोइरालाका पक्षमा समर्थन जनाउनुपर्ने भन्दै नाराबाजी गरेका हुन्।
कांग्रेस सभापतिको रेसबाट बाहिरिएका पौडेलले अहिलेसम्म खुलेर कसैलाई समर्थन गरेका छैनन्। सभापतिका लागि भएको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत भोट ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ।
लैनचौरमा पौडेलले बोलाएको चियापानमा प्रधानमन्त्री एवम् सभापतिका प्रत्यासी शेरबहादुर देउवा र सभापतिका अर्का प्रत्यासी शेखर कोइराला पनि पुगेका थिए। कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरूले पौडेलले कोइरालाको पक्षमा नखुल्दा पार्टीको नेतृत्व परिवर्तन हुन नसकेको भन्दै नाराबाजी गरेका थिए।
यस्तै कार्यक्रममा पौडेलले सम्बोधन गर्न खोज्दा सहभागीले शेखर कोइरालाका नाममा हुटिङ गरेका थिए। कतिपयले पौडेलले देउवासँग साँठगाँठ गरेको आरोप पनि लगाएका थिए। कोइरालाले समारोहमा सम्बोधन गर्दै भने, ‘‘तपाईंहरूको साथ पाएर खुसी छु, हामी जित नजिक छौं। तपाईंहरूको विवेक प्रयोग गर्नुहोस्।’ पौडेल शेखरको पक्षमा त खुलेनन्। तर उनले आफ्नो आत्माको आवाज सुनेर मतदान गर्न आग्रह गरे।
आफूविरुद्ध कार्यक्रममा नाराबाजी भएपछि देउवाले महाधिवेशन प्रतिनिधिको व्यवहारले आफूलाई दुखी तुल्याएको बताएका थिए। उनले कार्यकर्तालाई अनुशासित बन्न आग्रह गरे।
कांग्रेसका चौधौं महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ। सोमबार बिहान घोषित मत परिणामअनुसार देउवाले सबैभन्दा बढी २२५८ मत ल्याएका छन्। उनले ८३ मत पुर्याउन नसक्दा निर्वाचन हुन लागेको हो। निर्वाचनमा कुल ४६७९ मत खसेको थियो।
अर्का प्रतिस्पर्धा शेखर कोइरालाले १७२९ मत पाएका छन्। यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए। यी तीनैजनाको मत जोड्दा ६४३ मत हुन्छ। जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब ६ सय मत चाहिन्छ।
अब देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ। यस्तोमा पहिलो चरणको निर्वाचनमा तेस्रो र चौथो भएका सिंह र निधि निर्णायक बन्ने देखिएका छन्। पहिलो चरणमा देउवा र कोइरालाबीच ५५६ को मतान्तर छ। दोस्रो चरणको निर्वाचन दिउँसो साढे तीन बजेदेखि हुँदै छ।