विराटनगर- मोटरसाइकलको ठक्करबाट विराटनगरमा एक जनाको ज्यान गएको छ। बूढीगंगामा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका एक जना भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको हो।
प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४० वर्षीय दिनेश पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
तीव्र गतिमा रहेको मोटरसाइकलले कोसी लोकमार्गअन्तर्गत बूढीगंगा–१ स्थित गंगा चोकमा ठक्कर दिँदा पैदल हिँडिरहेका पटेल गम्भीर घाइते भएका थिए ।
पटेललाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा लगिएकोमा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय अशोक अधिकारी सामान्य घाइते भएका छन्।