काठमाडौं- देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिक देखि सामान्यतया बदली रहनेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मंगलबार लुम्बिनी, गण्डकी र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
मंगलबार राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
हिमपातको सम्भावनाका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।