काठमाडौं- नेपाल स्काउटको तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले पुनः कार्यभार सम्हालेका छन्। सर्वोच्च अदालतको अन्तरिम आदेशले पुनःबहाली गरेपछि आइतबार नेपाल स्काउट तदर्थ समिति संयोजकको रुपमा कार्यभार सम्हाल्दै भण्डारीले पुनः कार्यभार सम्हालेका हुन्।
अब आफ्नो प्राथमिकता स्काउटको निर्वाचन गराउनु रहेको उनको भनाइ छ। ‘प्रमुख प्राथमिकता नै मेरो निर्वाचन हो अब। ७५३ स्थानीय तहमा एकै दिन निर्वाचन हुन्छ। ७ वटा प्रदेशमा एकैदिन निर्वाचन हुन्छ र केन्द्रमा निर्वाचन हुन्छ। पहिलो प्राथमिकता स्काउटका सबै स्थानिय तह, प्रदेश तह र केन्द्रको निर्वाचन गरी संगठनलाई अगाडी बढाउनु रहेको छ। प्रत्येक स्थानिय तहका विद्यालयहरुमा स्काउट अभियान पुग्नेछ,' उनले थपे, 'विश्व स्काउटको मूल्य, मान्यता अनुरुप विद्यालय तहमा स्काउट शिक्षा सञ्चालन गर्न मेरो भूमिका हुनेछ।'
तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस २२ गते नियुक्त गरेका संयोजक भण्डारीलाई वर्तमान सरकारले २०७८ असोज १० गते हटाएको थियो। यसपछि उनी सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले संयोजकमा भण्डारीलाई कायम राख्नका लागि अन्तरिम आदेश जारी गरेसँगै आइतबार उनले नेपाल स्काउटको कार्यालयमा पुगेर कार्यभार लिएका हुन्।
वर्तमान सरकारले विराटनगरका रबिन दाहाललाई अघिल्लो हप्ता (मंसिर १९ गते) नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति संयोजकमा नियुक्त गरेको थियो। रबिन दहालले राष्ट्रिय तदर्थ समिति संयोजकको पदको शपथ लिएकै दिन सर्वोच्च अदालतले पूर्व अध्यक्ष भण्डारीलाई पूर्ववत् अवस्थामा काम गराउन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो।