मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिना कसुर ४० वर्ष जेल राखिएका दुर्गाप्रसादलाई '५ लाख' क्षतिपूर्ति!

बिना कसुर ४० वर्ष जेल राखिएका दुर्गाप्रसादलाई '५ लाख' क्षतिपूर्ति!

कुनै कसुर नै नगरी ४० वर्षसम्म शारीरिक र मानसिक यातनासहित जेल राखेपछि कति क्षतिपूर्ति रकम दिनुपर्ला? यो प्रश्न झट्ट सुन्दा अविश्वसनीय जस्तो लाग्न सक्छ। तर एक नेपालीले भारतमा पाएको यति लामो समयको सास्तीको मूल्य तोकिएको छ- ५ लाख (भारु)।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

इलाम- कुनै कसुर नै नगरी ४० वर्षसम्म शारीरिक र मानसिक यातनासहित जेल राखेपछि कति क्षतिपूर्ति रकम दिनुपर्ला? यो प्रश्न झट्ट सुन्दा अविश्वसनीय जस्तो लाग्न सक्छ। तर एक नेपालीले भारतमा पाएको यति लामो समयको सास्तीको मूल्य तोकिएको छ- ५ लाख (भारु)। 

कुनै कसुर नै नगरेको एक नेपाली नागरिकलाई भारतमा ४० वर्षसम्म जेल राखियो, यातना दिइयो। कैयौँ नेपाली र सहृदयी भारतीयको प्रयासपछि उनी बल्लतल्ल ४० वर्षपछि रिहा त भए तर उनको जोवन गुम्यो, स्वास्थ्य गुम्यो, सुन्दरता गुम्यो, मानसिक अस्वस्थता छ। यी सबै कुरा गुमेबापत ८ लाख नेपाली रुपैयाँ बराबर दिन अदालतको आदेश आएको छ। 

कुनै कसुर गरेको प्रमाणित भएपछि जेल राखिनुपर्ने हो। तर इलाम जिल्ला माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिनाका विषयमा भने यो भनाइ बिलकुल मेल खाँदैन। दोषी करार नै नभई ४० वर्ष जेल राखेको भारतीय प्रशासनले उनीमाथि गरेको शोषण र यातनाको असर अझै बोकेर हिँडिरहेका छन् दुर्गाप्रसाद।

दुर्गाप्रसाद भारत गएका बेला उतै जेल हालियो। दुर्गाप्रसाद अहिले राम्ररी बोल्नसम्म पनि सक्दैनन्। बोल्न खोजे मुख काम्छ, आफन्तलाई नै पनि ठम्याउन गाह्रो छ। 

बल्लतल्ल जेलबाट बाहिर निस्किएका दुर्गा कष्टपूर्ण जीवन बाँचिरहेका छन्। 'ठूलोबुबा (दुर्गाप्रसाद)को जीवन अस्थिर जस्तो छ। एक ठाउँ बस्नुहुन्न,' भतिज गोपाल तिम्सिनाले भने, 'एक जना हेरालु अनिवार्य चाहिन्छ।' 

दुर्गाप्रसादका भाइ पनि रोगी छन्। बहिनी मानसिक बिरामी छन्। दुर्गाप्रसादकी आमाको पनि एउटा हात छैन। कान कम सुन्छिन्। घरभरको भरथेग गर्ने एक्ला व्यक्ति हुन् गोपाल। 

'घरमा सबैथोक गर्ने म मात्र हुँ। सबै आफैँले गर्नुपर्छ,' उनले भने। अहिले दुर्गाप्रसाद कारागारबाट छुटे पनि घरमा हुनुहुन्न। घरमा राख्न सकस भएपछि बाहिर राखिएको छ।

कारागार जीवनमा मलम

पछिल्लो समय राहतका रूपमा मानवअधिकार मञ्च नेपाल र अन्य संस्थाले उपचारको व्यवस्था मिलाए। यसले गर्दा दुर्गाप्रसादको शरीरमा केही प्रगति भयो। अहिले भने बिनाकसुर कारागार बसेकामा क्षतिपूर्ति दिन भारतस्थित कोलकाता उच्च अदालतले दुर्गाप्रसादको पक्षमा फैसला गरेको छ। अदालतले ५ लाख भारु दिन सरकारलाई आदेश दिएको छ। 

तिम्सिनालाई  जेलबाट छुटाउन महत्वपूर्ण भूमिका खेलेका पश्चिम बङ्गाल एमेच्योर रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासले अदालतको फैसला सकारात्मक भएको बताए। 'लामो लडाइँपछि आज दुर्गाप्रसादले थोरै भए पनि क्षतिपूर्ति पाएका छन् । यो सकारात्मक कुरा हो,' विश्वास भन्छन्। अदालतले उक्त रकम छ साताभित्र तिम्सिनाको खातामा पठाइसक्न पनि भनेको उनको मुद्दा लडेका अधिवक्ता हिरक सिन्हाले जानकारी दिए।

कसरी चल्छ त दुर्गाप्रसादको जीवन ?

अदालतको फैसलाअनुसार दुर्गाप्रसादको अमूल्य जीवनको क्षतिपूर्ति ५ लाख भारु आउने भएको छ। त्यही रकम पनि आउने विषयमा परिवार विश्वस्त छैन। 

'ठूलोबुवा (दुर्गाप्रसाद)को जीवन अब झनै गाह्रो हुन्छ,' भतिज गोपाल भन्छन्, 'जेलमा पाएको सास्ती पनि बूढो भएको शरीरले पचाउन गाह्रो छ। हामी पनि के गर्ने दोधारमा छौँ।' सरकारले पनि दुर्गाप्रसादलाई हेरोस् भन्ने चाहन्छन् गोपाल। -रासस

प्रकाशित: Dec 11, 2021| 22:06 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।