लमजुङ- आफ्नो घर आगनमै रहेको विद्यालय छोडेर लमजुङको सदरमुकाम बेसीशहरका बालबालिका बोर्डिङ स्कुल जान्छन्। सदरमुकाममा रहेको बाल लक्ष्मीमन्दिर प्राथामिक विद्यालय भने मजदुरका छोराछोरीले धानेका छन्। ५० वर्षअघि स्थापना भएको लक्ष्मीमन्दिर सामुदायिक विद्यालय हो।
विद्यालयका प्रधानाध्यापक भगवती जोशीले पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच भएकाले स्थानीयले छोराछोरी गाउँको स्कुलमा नपढाएको बताइन्।
यसै विद्यालयबाट कखरा पढेर धेरैले उच्च शिक्षा हासिल गरे। तर, पछिल्लो समय उक्त विद्यालय काटेर निजी विद्यालय जानेको संख्या बढ्दा विद्यालय भने मजदुरका बालबालिकाले धानिएको छ।
विसं २०४२ सालमा गाउँलेले जग्गादान र श्रमदान गरी बनाएको विद्यालयमा अहिले जम्मा ४१ जना विद्यार्थी छन्। त्यसमध्यै पनि नियमित रुपमा विद्यालय आउनेको संख्या कम छ।
खाजा खुवाउने व्यवस्था नभएकाले विद्यार्थीहरु नियमित विद्यालय नआएको शिक्षकहरुको भनाइ छ। ठूलो उमेर समूहका विद्यार्थी भने कामका समयमा मजदुरी गर्न जाने गरेका छन्।
विद्यालयमा एक जना काज, ३ जना दरबन्दी र एक जना बालविकास गरी ५ जना शिक्षक र एक कार्यालय सहयोगी छन्।