काठमाडौं- संस्थापनइतर समूहका प्रभावशाली नेता भनिएका अर्जुन नरसिंह केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। १३ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका केसीले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
शेखर कोइरालाको प्यानलको पदाधिकारीमा नपरेपछि उनले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएका हुन्।
उनले साझा उम्मेदवार तय गर्नका लागि पटक-पटक नेताहरुबीच छलफलका लागि पहल गरेका थिए। तर, पनि साझा उम्मेदवार तय हुन सकेन। शेखरको टिमबाट केसीका ज्वाईं गगन थापा र अर्का नेता मिनेन्द्र रिजाल महामन्त्रीका उम्मेदवार बन्ने भएका छन् भने चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापतिमा उम्मेदवारी दिने भएका छन्।
प्रमुख पदाधिकारीमा नहटाएपछि केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। तत्कालीन संस्थापन (कोइराला) समूहका रहेका केसी १३ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीका उम्मेदवार भएका थिए। पछि उनी पौडेल समूहतिरै फर्केका थिए।