काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र लोकतान्त्रिक अभ्यास नगरेको आरोप लगाएका छन्।
आज शनिबार सभापतिमा उम्मेदवारी घोषणा गर्न आयोजित कार्यक्रममा उनले भने, ‘१३ औं महाधिवेशन भएको दुई महिनापछि विभाग गठन गर्नुपर्नेमा सभापतिले वास्ता गर्नुभएन। पार्टी विधान पालना नगरेको, विधि अनुसार नचलाएको स्थिति छ। महाधिवेशन ४ वर्षमा भएन। असामान्य परिस्थिति भनेर कुनै पनि काम नगरेर एक वर्ष म्याद थपियो र थप गरिएको समयमा पनि महाधिवेशन हुन सकेन। लोकतान्त्रिक पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास हुन सकेन। पार्टी गतिशील भएन।’
पार्टीको गतिशिलताका लागि आफूले सभापतिमा उम्मेदवारी दिएको उनले बताए। ‘मलाई पूरा विश्वास छ, म सभापति निर्वाचित हुनेछु। बोलेर मात्र हुँदैन, गरेर देखाउन सक्नुपर्छ।’
देउवाको असफलताकै कारण जनताले कांग्रेसलाई चुनावमा हराइदिएको तर्क सिंहले गरे। ‘अब पनि ठिक नेतृत्व चयन गर्न सकेनौं भने कांग्रेसका सामु अप्ठ्यारा दिन आउँछन्। १४ औं महाधिवेशन नेतृत्व परिवर्तन गर्ने अवसर हो। पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक छ।’ सत्ता दुरूपयोग गरेर महाधिवेशन प्रभावित गर्ने काम भइरहेको आरोप पनि उनले लगाए।
नेता सिंहले अनुभव नभएका र भएका दुवै व्यक्तिबाट पार्टी सञ्चाल हुन नसक्ने देखिएको बताए। सभापति देउवा र सभापतिका अर्का आकांक्षी शेखर कोइरालाप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। देउवासँग अनुभव भएको तर काम नलाग्ने पुष्टि भएको र शेखरसँग अनुभव नै नभएको तर्क सिंहले गरे।
आफूले १३ औं महाधिवेशनदेखि नै हुन नसकेको कामबारे केन्द्रीय समिति बैठकमा उठाउँदै आएको उनले बताए। ‘नेपाली कांग्रेसलाई यही अवस्थामा राख्ने हो भने धेरै अप्ठेरो अवस्था आउने देखियो। अब मतपत्र हातमा लिँदा पुराना वा अनुभव नभएकालाई दिँदा के होला भनी सोच्नुहुन्छ भन्ने विश्वास छु।’
क्रियाशील सदस्यता वितरणमा गलत काम भएको बताउँदै उनले अन्याय गर्नेलाई जिताउन नहुने बताए। ‘विधि र प्रक्रियाअनुसार कांग्रेसमा काम गर्छु भन्नेहरुलाई क्रियाशील सदस्यता नदिई अन्याय गर्नेलाई जिताउनु हुँदैन। आन्तरिक प्रजातन्त्रको अभ्यास गर्दासमेत धाँधली नगर्नेलाई मत दिएर जिताउनु हुँदैन।’
पार्टीमा नेतृत्व परिर्वतनको अवसर आएकाले यसलाई सदुपयोग गर्नसमेत उनले आग्रह गरे। कांग्रेस कमजोर भएकै कारण कम्युनिष्टहरुले प्रतिनिधि सभा विघटनको आँट गरेको आरोपसमेत उनले लगाए।