काठमाडौं– डा. डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमान कायम गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा २१ वटा कीर्तिमान कायम गर्दै उनले आफ्नो नाममा ८० विश्व कीर्तिमान कायम गरेका छन्।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वर्ल्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठलगायतले उपाध्यायलाई रेकर्ड प्रदान गरेका थिए। यसअघि डा. उपाध्यायले ५९ विभिन्न विश्व रेकर्ड कायम गरेका छन्।
कार्यक्रममा महानिरीक्षक खनालले नेपालीका लागि उपाध्यायको कार्य उदाहरणीय रहेको बताएका थिए। संगीतकार सन्तोष श्रेष्ठले उपाध्यायको कीर्तिमान देशका लागि गौरवको विषय भएको बताए।
डा. उपाध्यायले आफूले हरेक कार्यलाई पृथक तरिकाले गर्ने गरेको र यसले विश्व रेकर्ड कायम गर्दै गएको बताए। आफूले देशका लागि यो सबै गरेको दाबी गर्दै उपाध्यायले चाँडै नै एक सय रेकर्ड पुर्याउने लक्ष्य लिएर अगाडि बढिरहेको सुनाए।
डा. उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, वर्ल्ड ट्यालेन्ट बुक, एभरेष्ट वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, युआरएफ वर्ल्ड रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, द व्रिटिस वर्ल्ड रेकर्ड जस्ता दश संस्थाबाट २१ विधामा एकसाथ रेकर्ड बनाएका हुन्।
उनले रेकर्ड बनाएको २१ विधामा संगीतका विभिन्न तालहरू सम्बन्धी गीत, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी सहर समेटिएको गीति कविता, जनावरहरूको नाम समेटिएको गीति कविता, प्रत्येक एक बारमा आधा–आधा कर्ड समेटिएको गीत, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नारीहरूको नाम समेटिएको गीति कविता, विश्व सम्पदाहरूको नाम समेटिएको गीति कविता, विश्व प्रख्यात केकहरूको नाम समावेश गरिएको गीति कविता, विश्वका पुराना मन्दिरहरूको नाम समावेश गरिएको गीति कविता, प्लेकार्ड साइजमा सय भन्दा बढी आफ्ना गीत प्रिन्टलगायत रहेका छन्।
डा. उपाध्यायका २५ गीति एल्वम, १२ उपन्यासका साथै तीन गीति पुस्तक प्रकाशित छन्।