विराटनगर- मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी बिहीबार राति दुई जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका र बूढीगंगा गाउँपालिकामा दुर्घटना हुँदा साइकल यात्री र स्कुटर चालकको मृत्यु भएको हो।
विराटनगरमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा र बूढीगंगामा स्कुटर आफैं अनियन्त्रित हुँदा दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।
विराटनगर-११ रामपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको साइकललाई को२त ७१३९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकल यात्री विराटनगर-११ का ३४ वर्षीय मुन्ना सहनीको मृत्यु भएको हो। ओभरटेक गर्ने क्रममा ट्याक्टरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सहनीको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर र चालक विराटनगर-११ का मुकेश कामतलाई नियन्त्रणमा लिएर प्रहरीले घटना बारे अनुसन्धान थालेको छ। कामतले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरिकन ट्याक्टर चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।
त्यस्तै कोसी लोकमार्गअन्तर्गत बूढीगंगा-२ मा आफैं अनियन्त्रित भएको स्कुटर राति ८ बजेतिर सडकको बीच भागमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०४-००१ प ६४६० नम्बरको स्कुटर दुर्घटना हुँदा चालक मोरङको उर्लाबारी नगरपालिका-४ का २६ वर्षीय सुरज खनालको मृत्यु भएको हो।
दुर्घटनामा परेर गम्भीर घाइते भएका खनालको उपचारका क्रममा बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।