काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको डेमोक्रेसी फर समिटलाई सम्बोधन गर्ने भएका छन्।
बाइडेनको व्यक्तिगत चाहना र तत्परतामा आयोजना हुन समिट फर डेमोक्रेसीमा प्रधानमन्त्री देउवाले लोकतन्त्र, मानव अधिकार र महिला अधिकार रक्षाका लागि नेपालले चालेका कदमबारे धारणा राख्ने भएका छन्। भर्चुअल माध्यमबाट हुन लागेको सम्मेलनमा लोकतान्त्रिक मुलुकका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीहरुले सहभागिता जनाउने भएका छन्।
पछिल्लो समय विश्वमा लोकतन्त्रको चुनौतीका रुपमा देखा परेका अधिनायकवाद र भ्रष्टाचारविरुद्ध लड्न तथा मानव अधिकारको रक्षा गर्ने संकल्प लिएर लोकतान्त्रिक मुलुकहरुलाई मिलेर अघि बढ्ने विषयमा उक्त सम्मेलनमा छलफल हुने ह्वाइट हाउसले जनाएको छ।
एक वर्षअघि राष्ट्रपतीय चुनाव अभियानका क्रममा बाइडेनले आफू निर्वाचित भए लोकतन्त्रबारे विश्व सम्मेलन आयोजना गर्ने घोषणा गरेका थिए। विश्वका लोकतन्त्र पक्षधर भनिएका ११० मुलुकले दुई दिने सम्मेलनमा अमेरिकी निम्तो पाएका छन्। समिटमा दक्षिण एसियाबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई डाकिएको छ। तर, यस क्षेत्रका भुटान, बंगलादेश र श्रीलंकालाई भने निम्ता दिइएको छैन।
नेपालका तर्फबाट प्रधानमन्त्री देउवाले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन प्रणालीप्रति मुलुकका तर्फबाट प्रतिबद्धता जनाउनेछन्। त्यस्तै देउवाले लामो समयदेखि टुंगिन नसकेको संक्रमणकालीन न्यायका मुद्दा चाँडै टुंग्याउने प्रतिबद्धतासमेत जनाउने भएका छन्।
उक्त सम्मेलनमा अमेरिकाले चीनलाई भने बोलाएको छैन। तर, चीनले आफ्नो हिस्साको रुपमा मान्दै आएको ताइवानलाई भने सहभागी गराइने भएको छ। चीनले यसअघि नै ताइवान आफ्नो आन्तरिक मामिलाको विषय भएकोले हस्तक्षेप नगर्न चेतावनी दिएको थियो।