काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएपछि नेपालमा थप जोखिम बढेको छ। दक्षिण अफ्रिकामा पुष्टि भएको केही दिनमा नै ओमिक्रोन विभिन्न ४० देशमा फैलिएपछि नेपालले पनि सतर्कता अपनाउन थालेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ।
कोरोनाको अन्य भेरियन्टभन्दा यो भेरियन्ट आक्रामक रहेको विज्ञहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठन यस भेरियन्टको वास्तविकता पत्ता लगाउनका लागि अनुसन्धानमा लागेको छ। यो भेरियन्ट पहिलेभन्दा बढी घातक वा कम घातक छ भन्ने बारेमा अनुसन्धान भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ भेरियन्टबारे सचेत रहन भने आग्रह गरेको छ। नेपालले ओमिक्रोन जोखिम न्यूनीकरणका लागि विभिन्न योजना बनाएर काम अगाडि बढाएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ गुणराज लोहनीका अनुसार सिमानाकामा विशेष सतर्कता अपनाइएको छ। नेपालले अन्तर्राष्ट्रिय नाकाहरूमा पीसीआर रिपोट अनिवार्य गर्ने, लक्षण तथा चिन्हको जाँच गर्ने र सिमानाकाबाट भित्रिने सबैको एन्टिजेन परीक्षण गर्ने, एन्टिजेन परीक्षणमा पोजेटिभ आएमा थप नमुना संकलन गरी पीसीआर परीक्षण गर्नेलगायतका काम अगाडि बढाइसके लोहनीले बताए।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा अध्यागमन विभागले संक्रमणको पुष्टि भएका देशहरूबाट नेपाल प्रवेश अनुमति नदिने व्यवस्था गरेको उनले जानकारी दिए। उपचारका सम्बन्धमा संक्रमितहरूको सबै सरकारी अस्पतालमा निःशुल्क उपचार गरी शोधभर्नाको व्यवस्था गर्ने, ५० सैय्याका अस्पतालहरूमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरको व्यवस्था गरिएको तथा अक्सिजन प्लान्ट स्थापना गर्ने काम भइरहेको उनले बताए।
हाल देशभरका ५९ सरकारी प्रयोगशालाहरूबाट कोभिड–१९ को परीक्षण निःशुल्क हुँदै आएको छ। त्यसैगरी ४३ निजी प्रयोगशालाबाट दैनिक रूपमा परीक्षण हुँदै आएको छ।
यी लगायत सकरकारले जन स्वास्थ्यका मापदण्डहरूलाई थप कडाइका साथ लागू गर्न र गराउन निर्देशन दिइएको उनले बताए। अस्पतालहरूलाई आवश्यक जनशक्ति तथा सामाग्रीहरू सहित तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ।
हाल देशभरका ५९ सरकारी प्रयोगशालाहरूबाट कोभिड–१९ को परीक्षण निःशुल्क हुँदै आएको छ। त्यसैगरी ४३ निजी प्रयोगशालाबाट दैनिक रूपमा परीक्षण हुँदै आएको छ।
प्रवेश नाकामा र समुदायमा गरिने सर्भिलेन्सका लागि एन्टिजेनमा आधारित परीक्षणलाई व्यापकरुपले बढाउँदै लगिएको मन्त्रालयले जानकारी दिएको छ। प्रयोगशालाहरूमा पनि आवश्यक किट लगायतका सामग्रीहरूको मौज्दात पर्याप्त मात्रामा राखिएको र कोभिड–१९ का भेरियन्टहरूको अनुगमन गर्नका लागि नियमितरूपमा जिन स्विकेन्सिङ भइरहेको लोहनीले जानकारी दिए।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले विश्व स्वास्थ्य संगठनले गरेको एक सूक्ष्म अध्ययनमा ओमिक्रोन धेरै घातक नरहेको बताए। उनले यसको पूरा अध्ययन नभइसकेकोले नेपालमा भने विभिन्न १३ नाकामा सतर्कता अपनाउन आग्रह गरेका छन्।
'अहिलेसम्म नयाँ भेरियन्ट ओमिक्रोनका कारण कसैको ज्यान गुमाएको पुष्टि भएको छैन। तर, यसको प्रभाव र असरबारे वैज्ञानिक अध्ययन जारी छ। हामी सचेत र होसियार भने हुन आवश्यक छ,' उनले भने।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिहंका अनुसार नयाँ भेरियन्टको जोखिम न्यूनीकरणका लागि विशेष गरी १३ वटा मुख्य सिमानाकाहरुमा सूक्ष्म निगरानी गर्ने, र एयर ट्राभलमा पनि विशेष ध्यान दिएको बताए।
कोरोनाको दोस्रो लहर सुरु हुनुअघि अर्थात् डेल्टा भेरियन्ट पहिचान भएका बेला पनि सरकारले राम्रो तयारी रहेको दाबी गरेको थियो। तर, दोस्रो लहरमा अस्पतालको व्यवस्थापन, अक्सिजनको अभाव लगायत समस्याका कारण धेरै मानिसले ज्यान गुमाउनुपर्यो। त्यसैले समयमा नै तयारी सक्नुपर्ने विज्ञहरू बताउँछन्।