काठमाडाैं- शनिबार साँझ क्यानडा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा कुलप्रसाद कोइराला विमानस्थलबाट फर्काइए । सरकारको स्वीकृतिबिनै जान लागेको बताउँदै उनी फर्काइएका हुन् । उनी स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदा नियुक्त भएका हुन् ।
अनावश्यक विदेश भ्रमणमा रोक लगाउने निर्णय कार्यान्वयन गर्ने क्रममा उनलाई फर्काइएको दाबी सरकारी स्रोतले गरेको छ । सरकारका विभिन्न निकायमा राजनीतिक नियुक्ति पाउनेहरूले सहयोग नगरेको प्रधानमन्त्रीले आफ्नो किचेन क्याबिनेटभित्र गुनासो गर्दै आएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार कानुनले दिएसम्मको अधिकार प्रयोग गरी विगतमा देउवा सरकारले गरेका बाँकी सबै नियुक्ति हटाउने तयारीमा उनी छन् ।
मन्त्रिपरिषद्को यसअघिको बैठकले १४ भदौ ०७४ पछिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। त्यसअनुसार अब देउवा सरकारले गरेका सबै संस्थान प्रमुखहरूलाई हटाउँदै जाने तयारीमा सरकार रहेको स्रोतको दाबी छ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयविरुद्ध कडा चेतावनी दिए पनि प्रधानमन्त्री ओली आफ्नो कदमबाट पछि नहट्ने मुडमा रहेको स्रोतले बतायो।
प्रधानमन्त्री ओलीले सोहीक्रममा यसअघि देउवा सरकारका पालामा नियुक्त भएका राजदूतलाई हटाउनेसमेत आन्तरिक तयारी गरेका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमणलगत्तै कांग्रेस र राप्रापा कोटाबाट नियुक्त भएका राजदूत फिर्ता बोलाउने बताएका थिए।
त्यसैगरी, सरकारले सात वटा प्रदेश प्रमुखहरूलाई पनि हटाउने सूचीमा राखेको छ। तर, त्यसका लागि वातावरणको पर्खाइमा छ । यसअघि नै हटाउने गोप्य तयारी गरेको भए पनि त्यो सार्वजनिक भएकाले सरकार तत्कालका लागि पछि हटेको मात्र हो । आइतबार मात्रै पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख युवराज भुसाल पदमुक्त भएका छन् । निर्णयपछि पनि राजिनामा दिन तयार नहुनेहरूलाई सरकारले पदमुक्त भएको पत्र दिन थालेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४